११ बैशाख २०८१, मंगलवार
Follow Us

कोरोना भाइरसका २६३८ नयाँ संक्रमित थपिए

नेपालब्रिटेन संवाददाता
२८ आश्विन २०७७, बुधबार ११:४४

काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित झण्डै १ लाख २० हजार पुग्न थालेका छन् । बुधबार २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १३ हजार ९४७ पीसीआर परीक्षण गर्दा २ हजार ६३८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएका छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।

बुधबार देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ । मंगलबार यो संख्या ३५ हजार ९१५ थियो । सक्रिय संक्रमितहरु मध्ये संस्थागत आइसोलेसनमा १४ हजार ८१९ जना रहेका छन् । होम आइसोलेसनमा २१ हजार ५४८ जना बसेको प्रवक्ता गौतमले जनाए । सक्रिय संक्रमितको तुलनामा संक्रमणबाट निको हुनेको दर केही घटेको छ । बुधरबार २ हजार १७४ जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ८० हजार ९५४ पुगेको छ । यो कुल संक्रमितको ६८ दशमलव ६ प्रतिशत हो ।

काठमाडौंमा बढे १४०३ नयाँ संक्रमित
काठमाडौंमा कोरोना भाइरसका १ हजा ४०३ नयाँ संक्रमित थपिएकाछन् । पीसीआर टेष्ट धेरै हुँदा काठमाडौंमा पनि धेरै संक्रमित थपिने गरेका छन् । तर, बुधबार १३ हजार ९४७ पीसीआर परीक्षण गर्दा उपत्यकामा संक्रमितको संख्या पनि घटेको देखिएको छ । देशभर बुधबार थपिएका कुल संक्रमितको ५० प्रतिशत बढी संक्रमित फेरि पनि उपत्यकामै थपिएकान् । काठमाडौं जिल्लामा ९८६ जना संक्रमित थपिएका छन् । यसैगरी ललितपुरमा ३०९ जना र भक्तपुरमा १०२ जना संक्रमित थपिएका छन् ।

थप १२ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २१७४ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८० हजार ९५४ पुगेको छ ।