१२ बैशाख २०८१, बुधबार
Follow Us

घटस्थापनादेखि दशैं विदा दिन सरकारलाई सचिवहरुको सुझाव

नेपालब्रिटेन संवाददाता
२८ आश्विन २०७७, बुधबार ११:४८

काठमाडौं । कोरोना भाइरसको महामारी थेगिनसक्नु अवस्थामा पुगेको भन्दै विभिन्न मन्त्रालयका सचिवहरुले घटस्थापनाको दिनदेखि सरकारी कार्यालयहरु बन्द गर्न सुझाव दिएका छन् । कोरोना संक्रमण सरकारी कार्यालयहरुमै धेरै फैलिएपछि सचिवहरुले यसवर्षका लागि घटस्थापनाका दिनदेखि नै कार्याहरु बन्द गर्न मुख्यसचिव शंकरदास बैरागीमार्फत सरकारलाई सुझाव दिएका हुन् ।

सरकारको केन्द्रीय सचिवालय सिंहदरबारदेखि विभिन्न कार्यालयहरुमा यतिबेला धमाधम कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ । सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार, कोभिड १९ विपद् व्यवस्थापन केन्द्र, काठमाडौं जिल्ला प्रशासन लगायतका प्रशासनिक केन्द्रमा काम गर्ने कैयौं कर्मचारीमा कोरोना संक्रमण भैसकेको छ । कतिपय कार्यालयहरुले आफ्नो सेवा यसअघि नै कटौती गरिसकेका छन् ।

पछिल्ला केही दिन यता संघीय सरकारका २ मन्त्री समेत कोरोना संक्रमित भएका छन् । सचिवहरुले मुख्यसचिव बैरागीलाई भेटेर कार्यालयहरुमा थप संक्रमण फैलिन नदिन विदाको आग्रह गरेका हुन् । तिब्र संक्रमण फैलिन नदिन दशैं विदा लम्ब्याउनु उपयुक्त विकल्प हुने सचिवहरुको सुझाव छ ।

विदा लामो भएपनि यसवर्ष विगतमा जस्तो दशैं मनाउन नहुने स्वास्थ्य विज्ञहरुले सुझाव दिइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैं मनाउने क्रममा हुने भेटघाटले संक्रमण फैलिन मद्दत पुग्ने भन्दै जो जहाँ छ त्यहीँ बसेर दशैं मनाउन निरन्तर आग्रह गरिरहेको छ ।

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले पनि मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा यसपटकको दसैंलगायत चाडपर्व आफू रहेकै ठाउँमा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर मनाउन आग्रह गरेका थिए । दशैंमा विदा फूलपातीका दिन देखिमात्र ५ दिनसम्म हुनेगर्छ । यसवर्षको नियमित दशैं विदा कात्तिक ७ गते फूलपातीका दिनदेखि कात्तिक ११ गते एकादशीका दिनसम्म रहेको छ ।