१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सबैको शुभेच्छाले नै कोरोना संक्रमणका विरुद्ध लड्न आत्मबल मिल्यो : चन्द्र ढकाल

नेपालब्रिटेन डट कम्
२८ आश्विन २०७७, बुधबार १८:३०

सुरक्षित रहन समेत आग्रह
काठमाडौं । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल कोभिड संक्रमणबाट मुक्त भई आज अस्पतालबाट घर फर्किएका छन् । अस्पतालबाट घरे फर्किएलगत्तै उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । सामाजिक सञ्जालमार्फत उपाध्यक्ष ढकालले भनेका छन्– ‘मेरो स्वास्थ्यलाभको कामना गर्ने दिदीबहिनी तथा दाजुभाई, विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरु, विभिन्न राजनीतिक दलका नेताज्यूहरुलगायत सबै आदरणीय महानुभावहरुमा विशेष धन्यवाद ज्ञापन गर्दछु । नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध सबै साथीहरु, देशका समग्र व्यवसायी साथीहरु, एसोसिएटेड सदस्य, वस्तुगत संघ, जिल्ला तथा नगर सदस्यहरु, व्यावसायिक घरानालगायत विभिन्न पेशागत संघ महासंघ र आवद्ध सबैप्रति म कृतज्ञ छु । यहाँहरुको शुभेच्छाले नै मलाई संक्रमणका विरुद्ध लड्न आत्मबल मिलेको महसुस मैले गरेको छु ।’

उनले बिरामी भएका बेला आफु र आफ्नो परिवारका सदस्यहरुलाई साथीहरुले गरेको एक कल फोन र एसएमएसले कति ठूलो औषधिको काम गर्दोरहेछ भन्ने कुरा यसपटक राम्रोसँग महसुस गरेको स्मरण गरेका छन् । उनले भनेका छन्– ‘यस क्षणमा मलाई जस्तै माया र स्वास्थ्यलाभको कामना यस महाव्याधिबाट संक्रमित सबै दिदीबहिनी तथा दाजुभाईले पाउन सकुन् भन्ने कामना गर्न चाहन्छु र उहाँहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै यस अप्ठेरो परिस्थितिमा स्वदेश तथा संसारभरि रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई स्वास्थ्य सजगता र सतर्कता अपनाई सपरिवार सुरक्षित रहनुहुन पनि विशेष आग्रह गर्दछु ।’

उनले नेपालका सबै व्यवसायी साथीहरु र विशेषगरी नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीप्रति आभार समेत प्रकट गरेका छन् । उनले भनेका छन्– ‘उहाँहरुले मेरो स्वास्थ्यप्रति राख्नुभएको चासो र चिन्ता नै मेरा लागि कोरोना भाइरसलाई जित्ने दरिलो औजार बनेको महसुस मैले पटक–पटक गरेको छु । हाम्रो आसन्न साधारणसभा सम्पन्न गर्नुपर्ने तयारीको काममा जुट्नुपर्ने बेलामा म आफैँ विरामी भई बस्नुपर्यो र अझै केही दिन चिकित्सकले आराम गर्नुपर्ने भनेकोले छिट्टै नै म सबै साथीहरुसँग सहकार्यमा जुट्ने नै छु ।’ उनले सबैलाई सुरक्षित रहन समेत आग्रह गरेका छन् ।