८ बैशाख २०८१, शनिबार
Follow Us

डिएसपी अंगुर जिसीको निलम्बन फुकुवा

नेपालब्रिटेन संवाददाता
२९ आश्विन २०७७, बिहीबार ११:४४

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा मुद्दा परेपछि निलम्बनमा परेका प्रहरी नायब उपरीक्षक अंगुर जिसीको निलम्बन फुकुवा भएको छ । गृह मन्त्रालयले डिएसपी जिसीको निलम्बन फुकुवा गर्न बिहीबार प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको हो।

निर्मला बलात्कार-हत्यामा यातना दिएर दिलीपसिंह विष्टलाई बयान गराएको आरोपमा उनी निलम्बनमा परेका थिए । गत साउन १५ गते जिल्ला अदालत कञ्चनपुरले उनीसहित मुद्दा परेका अन्य आठै जनालाई सफाइ दिएको थियो। सफाइ पाएसँगै जिसीले पुनर्वहालीका लागि गृहमा निवेदन दिएका थिए । उनीसँगै निलम्बनमा परेका डिएसपी ज्ञानबहादुर सेठी र सई हरिसिंह धामी भने अवकास भइसकेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोबाट अनुसन्धानका लागि खटिएका जिसीलाई तत्कालीन प्रहरी नेतृत्वले यातनापूर्वक बयान गराएको आरोपमा निलम्बन गरेको थियो । २०७५ साउन ११ गते पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा कञ्चनपुर भीमदत्त नगरपालिका–१८ को उखुबारीमा फेला परेको थियो। उक्त घटनाका वास्तविक दोषी अहिलेसम्म पनि पत्ता लागेका छैनन्।