१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लोक सेवा आयोगको महत्त्वपूर्ण तीन शाखा सिल

नेपालब्रिटेन संवाददाता
३० आश्विन २०७७, शुक्रबार ०८:२८

काठमाडौँ । लोक सेवा आयोगको परीक्षा फल प्रकाशित गर्नेलगायत महत्वपूर्ण तीनवटा शाखा सिल गरिएको छ । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै ती शाखाहरू सिल गरिएको हो ।

परीक्षा सञ्चालन गर्ने आयोगकै तीन महत्त्वपूर्ण शाखाहरू सूचना (विज्ञापन) तथा प्रकाशन शाखा, लिखित नतिजा प्रकाशन (प्राविधिक र अप्राविधिक) दुवै शाखाका गरी चार कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ती शाखाहरू निसंक्रमित गरेर सिल गरिएको आयोग स्रोतले बतायो ।

स्रोतका अनुसार सूचना तथा प्रकाशन शाखाका दुई र लिखित नतिजा प्रकाशनतर्फ प्राविधिक र अप्राविधिक दुवै शाखाका १–१ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।

कर्मचारीलाई कोरोना देखिएपछि ३ वटै शाखाका गरी करिब २० जना कर्मचारीलाई १५ दिनका लागि घरमै बस्न भनिएको छ ।

आयोगले बुधवार मात्रै १८२ सहसचिव र ४५६ उपसचिव पदका लागि विज्ञापन गरेको थियो । कोरोनाका कारण स्थगित भएका परीक्षाहरुको समय तालिकासमेत तोकेको थियो । यससँगै आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ ल्याएको थियो ।