१३ बैशाख २०८१, बिहीबार
Follow Us

बाबुराम भट्टराईको जनता भड्काउने कुचेष्टा : प्रधानमन्त्री

नेपालब्रिटेन संवाददाता
३० आश्विन २०७७, शुक्रबार ०८:३२

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई जनता भड्काउने कुचेष्टा गरिरहेको आरोप प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएका छन् । प्रधानमन्त्री ओलीले डा. बाबुराम भट्टराईले बुढीगण्डकी विद्युत आयोजनाबारे गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर जनता भड्काउने कुचेस्टा गरेको आरोप लगाए ।

६५ औँ प्रहरी दिवसको अवसरमा नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्णय नभएको र कसैले नलिएको आयोजनामा यति अर्ब बाँडेर खाए भन्दै निराधार कुरा गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले देश र जनतालाई गलत सूचना दिएर पूर्वप्रधानमन्त्री भट्टराईले भड्काउने कुचेष्टा गरेको समेत आरोप लगाए । पूर्वप्रधानमन्त्री भट्टराईले केही दिनअघि प्रधानमन्त्री ओलीसहितका नेताले बुढीगण्डकी आयोजनामा नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको दावी गरेका थिए ।

प्रधानमन्त्री ओलीले बलात्कारजस्ता अत्यन्त अमानवीय अपराधविरुद्ध चाँडै नै नयाँ कानुन आउने पनि बताए ।बलात्कारजस्ता घटनामा मिलापत्र गरेर अपराधी छाड्ने र छोडाउनेहरुलाई कानुनी कारबाहीका लागि पछि नहट्न पनि प्रधानमन्त्री ओलीले प्रहरीलाई निर्देशन दिए ।