१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘कोरोना संक्रमण नियन्त्रणभन्दा सरकार भ्रष्टाचारमा तल्लिन’

नेपालब्रिटेन संवाददाता
३० आश्विन २०७७, शुक्रबार १३:२४

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भिर नभएको भन्दै आन्दोलन गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोरोना रोकथाम तथा नियत्रणका लागि गम्भिर नभएकोले दशैं लगत्तै विरोधका औपचारीक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताएका हुन । कांग्रेसले गठन गरेको कोरोना सम्बन्धी अनुगमन समितिले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति देउवाले दशैं लगत्तै संसद भित्र र बाहिर देशैभर सशक्त विरोध कार्यक्रम गर्ने बताएका हुन ।

सभापति देउवाले कोरोना संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रुपमा फैलिएको आरोप लगाए । सरकार संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्न भन्दा पनि भ्रष्टाचार गर्नमा तल्लिन रहेको उनको आरोप छ । कांग्रेस सहमहामन्त्री प्रकाशसरण महतले सरकार नागरिकको स्वास्थ्य सुरक्षा र दैनिक जिवनमा परेको आर्थिक सामाजिक कठिनाइप्रति सरकार संवेदनशील नभएको बताए ।

कोरोना भाइरस संक्रमणका कारण नागरिक समस्यामा परेको कांग्रेसले उद्दार र राहतको सुमचित व्यवस्था गर्न र देशको अर्थतन्त्रलाई बचाउन समेत माग गरेको छ । कांग्रेसद्धारा गठित अनुगमन समितिले विभिन्न क्षेत्रका व्यक्ति विज्ञ र कोभिड १९ रोकथाम तथा नियत्रणमा खटिएका व्यक्तिहरुसँग समन्वय गरी अनुगमन गरेको थियो । समितिले कोभिड १९ संक्रमण समुदाय स्तरमा फैलिदा समेत सरकार गम्भिर नबनेको निष्कर्ष निकालेको छ ।