१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चीनले नेपालसँगको सहमति चाँडै कार्यान्वयन गर्ने

नेपालब्रिटेन डट कम्
५ पुष २०७३, मंगलवार ०३:०७

काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनले नेपालसँगको सहमति–सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गरेको छ ।नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा प्रचार विभाग प्रमुख लिउ छिपाओ नेतृत्वको टोलीले यस्तो विश्वास व्यक्त गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेतासँगको सोमबार भएको भेटवार्तामा सो धारणा राखेको हो । टोलीले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेको थियो ।

प्रधानमन्त्री दाहालसँगको भेटमा दुई देशबीचको सहमति र सम्झौता कार्यान्वयनका विषयमा छलफल गरेको छ । ओलीसँगको भेटमा भने सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरेको छ ।‘प्रधानमन्त्रीका रूपमा चीन भ्रमण गर्दा दुई देशबीच सम्पन्न सम्झौता तथा सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरेको छ,’ एमाले अध्यक्ष ओलीसँगको भेटपछि प्रचार विभाग सचिव विष्णु रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष ओलीसँग भेट गर्न चिनिया“ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाओ नेतृत्वको टोली एमाले मुख्यालय धुम्बाराही पुगेको हो । प्रतिनिधिमण्डलले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि जिज्ञासा राखेको छ ।

ओलीले नेपाल–चीनबीच रहिआएको प्रगाढ सम्बन्ध ‘कसैले चाहेर पनि भत्काउन नसक्ने’ स्पष्ट पार्दै ‘आगामी दिन यसलाई थप मजबुत बनाउनुपर्ने’मा जोडदिएका छन् ।भेटमा प्रतिनिधिमण्डल नेता, चिनिया“ कम्युनिस्ट पार्टी पोलिटब्युरो सदस्य तथा प्रचार विभाग प्रमुख लिउ छिपाओ भने स्वास्थ्यका कारण सहभागी हुन सकेनन् । एमाले उपाध्यक्ष भीम रावल, पोलिटब्युरो सदस्यद्वय महेन्द्रबहादुर पाण्डे र विष्णु रिमाल तथा केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ भेटवार्तामा सहभागी थिए ।
– राजधानीबाट