October 24, 2020
9:22 PM | 2:07 AM

मध्यपूर्व एनआरएनए सम्मेलनः संकटमा एनआरएनएको भूमिका सह्रानीयः मन्त्री ज्ञवाली

  16/10/2020 मा प्रकाशित

लण्डन। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अब मध्यपूर्वी देशहरुसँग नेपालको सम्बन्ध श्रम क्षेत्रमा मात्रै सीमित नरहने बताएका छन्। शुक्रबारदेखि शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वको सातौं क्षेत्रीय भेलाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले मध्यपूर्वी देशहरुलाई श्रम गन्तब्यका रुममा मात्रै सीमित नराख्ने बताएका हुन्।

‘अहिलेसम्म मध्यपूर्व क्षेत्र हाम्रा लागि एउटा प्रमुख श्रम गन्तव्यका रुपमा रहेको छ। नेपाल श्रमिक आपूर्ती मात्रै गर्ने भनेर जसरी फिचरिङ भएको छ। यो परिभाषालाई हामीले बदल्न चाहिरहेका छौँ,’ मन्त्री ज्ञवालीले भने, ‘अब नेपाल र मिडिलइष्टको सम्बन्ध श्रम क्षेत्रमा मात्रै सीमित रहनेछैन। बिस्तृतिकरण गर्दै लैजाने छौ ।’ श्रम क्षेत्रसँग मात्रै नभइ पर्यटन, लगानी र निर्यात व्यापारको नयाँ सन्दर्भबाट नेपालले सम्बन्ध अगाडि बढाउन चाहेको उनको भनाइ छ ।

उनले कोरोना महामारीको बेला मध्यपूर्वमा कार्यरत नेपालीहरुले भोग्नु परेको समस्या समाधानमा एनआरएनएका प्रतिनिधिले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संघको प्रशंसा समेत गरे। ‘संकटको अग्नि परीक्षामा एनआरएनए साँच्चिकै पास भएको छ। संकटको बेला नेपाली श्रमिकहरुप्रति संघले खेलेको भूमिका सह्रानीय छ,’ उनले भने।

उनले कोरोनाका कारण विदेशमा रोजगारी प्रभावित भइ समस्यामा परेका १ लाख ३० हजारभन्दा बढी नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकार सफल भएको बताए । अझै विभिन्न मुलुकमा समस्यामा परेका २६ हजार ३१३ जना नेपाली फर्काउनु पर्ने सूचीमा रहेको उनको भनाइ छ ।

एनआरएनए र दूतावासको सहयोग र समन्वयमा नेपाली फर्काउन सम्भव भएको उनले बताए। विदेशमा रोजगारी गुमाएर फर्किएका युवाहरुलाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्नेतर्फ पनि नेपाल सरकारले गृहकार्य गरिरहेको उनको भनाइ थियो ।

‘गैरआवासीय नेपालीहरुको आजको आवश्यकता, स्वास्थ सुरक्षा, सहज फिर्ती एवंम रोजगारी, सामाजिक पुर्नस्थापनाको सुनिश्चिता’ भन्ने मुल नारा नारासहित आयोजना गरिएको भेला भर्चुअल माध्यमबाट दुई दिनसम्म चल्नेछ।

त्यस्तै भेलामा श्रममन्त्री रामेश्वर राय यादव तथा एनआरएनएका उच्चस्तरीय पदाधिकारीहरुको समेत सहभागीता रहेको छ।

भेला विशेषतः वैदेशिक रोजगारीका लागि मध्यपूर्वी देशहरूमा कार्यरत नेपाली कामदारले भोग्दै आएको समस्या, विदेशमा आर्जन गरेको सीप र पुँजीलाई स्वदेशमा लगाउन तथा मध्यपूर्वको लगानी स्वदेशमा कसरी भित्र्याउन सकिन्छ भन्नेमा केन्द्रित रहने संयोजक गुरुङको भनाइ छ।

त्यस्तै कोरोना महामारीको कारणले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पारेको असर, घरफिर्ती, रोजगारी र पुनएकीकरण पनि भेलाको मुख्य एजेण्डा रहेको गुरुङले बताए ।

मध्यपूर्वी देशहरूमा इजिप्ट, इराक, जोर्डन, कुवेत, लेबनान, ओमन, बहराइन कतार, साउदी अरेबिया र यूएई पर्दछन्। यहाँ करिव ९० प्रतिशत नेपाली श्रमीकहरु कार्यरत छन्। ।

भेला एनआरएनए राष्ट्रिय समन्वय परिषद् कतारको संयोजनमा आयोजना गरिएको हो । यसअघि छैटौँ मध्यपूर्व क्षेत्रीय भेला यूएईको दुबईमा आयोजना गरिएको थियो ।
भेला एनआरएनएका मध्यपूर्व संयोजक प्रविण गुरुङको अध्यक्षतामा शुरु भएको हो।

प्रतिक्रिया