१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मध्यपूर्व एनआरएनएका राष्ट्रिय समितिको एउटै स्वर: अनलाइन भोटिङ्ग

नेपालब्रिटेन डट कम्
३० आश्विन २०७७, शुक्रबार २१:०१

लण्डन। शुक्रबारदेखि शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वको सातौं क्षेत्रीय भेलामा संघले अघि सारेको अनलाइन भोटिङ्ग, निःशुल्क सदस्यता, प्रतिनिधी चयन, विधान संशोधन लगायतका विषयमा व्यापक छलफल भएको छ।

क्षेत्रीय बैठकमा संघको ‘पोलिसि एण्ड अर्गनाइजेशन प्रोसिडर’ सेसनमा बोल्ने मध्यपूर्वका राष्ट्रिय समितिका अध्यक्षहरुले आगामी निर्वाचन अनलाइन भोटिङ्ग मार्फत हुनु पर्नेमा जोड दिए ।

गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष महमद मुक्तदाले संघको निःशुल्क सदस्यता वितरणको विषयलाई थप अध्ययन गरेर अघि बढ्न सकिने विचार व्यक्त गरे । उनले संघको आगामी निर्वाचन अनलाइन मार्फत गर्दा उचित हुने तर्क गरे ।

गैरआवासीय नेपाली संघ बहराइनकी अध्यक्ष लक्ष्मी गिरीले ग्राउण्डमा काम गर्दा आर्थिक समस्या हुने बताउँदै निःशुल्क सदस्यता वितरण गर्नुअघि उचित विकल्प ल्याउन सुझाउ दिइन् । उनले कोभिड १९ को प्रभावपछि संघको लोकप्रियता बढेको बताइन् । उनले डिजिडल युगमा टाउको गनेर मतदान गर्ने सिस्टम हटाउनु पर्ने तर्क गरिन् ।

गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष प्रकाश कोइरालाले छिटोभन्दा छिटो विधान संशोधन गरे अविलम्व अनलाइन भोटिङ्गमा जाने निर्णय गर्न सुझाव दिए ।

एनआरएनए साउदी अरबका अध्यक्ष तेज बहादुर थापाले हाम्रा भन्दा राम्रा मान्छेहरु नेतृत्व ल्याउन प्रविधीमैत्री बनाउनु पर्नेमा जोड दिए । उनले निःशुल्क सदस्यता वितरणले मध्यपूर्वका श्रमिकहरुको आवाजलाई समेटेको बताए । उनले निःशुल्क सदस्यता वितरण सम्वन्धी प्रस्तावमा पूर्ण रुपमा समर्थन रहेको जनाए । उनले संघको निर्वाचनमा किन्ने र बेच्ने चलखेलको अन्त्य गर्न अनलाइन भोटिङ्गमा जान आवश्यक रहेको वताए । उनले संघले अघि सारेका प्रस्तावहरु कार्यन्वयन गर्ने तिर लाग्न सबैलाई आग्रह गरे ।

एनआरएनए ओमानका अध्यक्ष सेमन्त पुर्जा पुनले कोभिड १९ का बीच सकरात्मक रुपमा आएको निःशुल्क सदस्यता सम्वन्धी प्रस्ताव अध्ययन गरेर आएको वताए । उनले संस्था प्रगतिशिल हुदै आएको बताए । उनले बिभिन्न एनसीसीहरुमा फरक फरक व्यवस्था रहेको वताए । उनले अनलाइन भोटिङ्गमा जाने केन्द्रीय निर्णय स्वागत योग्य कदम भएको बताए । उनले प्रतिनिधी दर्ता शुल्क खारेज गरिएकोमा प्रसन्ता प्रकट गरे ।

गैरआवासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले निःशुल्क सदस्यता वितरण सम्बन्धी प्रस्ताव सकरात्म रहेको बताउँदै सदस्यता निःशुल्क सम्वन्धी प्रस्तावको निर्णय गर्ने अधिकार राष्ट्रिय समितिलाई दिएर जान सकिने बताए ।

संघका अर्का सल्लाहकार टिबी कार्कीले संघले अघि सारेको निःशुल्क सदस्यता सम्वन्धी प्रस्ताव मध्यपूर्वका नेपालीहरुको आवाज भएको बताए । उनले आयस्रोत जुटाउन नसक्ने एनसीसीहरुलाई विकल्प दिएर अघि बढ्न सकिने बताए । उनले संघका निर्वाचनमा हुने बेथितीलाई व्यवस्थित गर्न नयाँ प्रस्ताव ल्याइएको बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा, सचिव गौरी जोशी, कोषाध्यक्ष महेश श्रेष्ठ, प्रवक्ता डिबी क्षेत्री लगायतले आआफ्ना भनाईहरु राखेका थिए ।

सो कार्यक्रमको संचालन संघका सचिव आरके शर्मा र यस्मिन वेगमले गरेकी थिइन् ।