८ बैशाख २०८१, शनिबार
Follow Us

आज बडादशैंको दोस्रो दिन, ब्रम्हचारिणी भगवतीको पूजाआराधना गरिँदै

नेपालब्रिटेन संवाददाता
२ कार्तिक २०७७, आईतवार ०३:२७

काठमाडौं । बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा गरी मनाइँदै छ । बडादशैं अन्तर्गत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन लागेको हो । तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो ।

कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु छ ।ब्रह्मचारिणी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन् । कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ । आरोग्य र शान्ति प्राप्तिका लागि यिनको आराधना गरिन्छ ।

घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

यो वर्ष नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा विगतजस्तो भिडभाड चहलपहल छैन ।

उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि कमै मात्रै भक्तजन पुगेका छन् ।