११ बैशाख २०८१, मंगलवार
Follow Us

उदयपुरमा स्कार्पियो दुर्घटना, ५ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२ कार्तिक २०७७, आईतवार ०३:२८

काठमाडौं । सिद्दिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी–घुर्मी सडकखण्डको भदौरे भीरमा शनिबार राति स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको मृत्यु हुनुका साथै तीनजना गम्भिर घाइते भएका छन् ।

कटारी नगरपालिकाको वडा नम्बर १४ मा पर्ने भदौरे भिरमा भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२० प ७१७१ नम्बरको स्कारपियो दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार स्कारपियो राती १२ बजे दुर्घटना भएको थियो । मृतकमध्ये ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्कीको मात्र पहिचान खुलेको छ ।

दुर्घटनामा परेर मृत्यु भएकामध्ये अन्दाजी ३२ वर्षका पुरुष, ३५ वर्षका पुरुष र अर्की ३५ वर्षकी महिलाको पहिचान हुन बाँकी रहेको छ । दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते छन् ।

उनीहरुलाई कटारी अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि बिराटनगर पठाइएको छ । कल्पनाको टाउको र शरिरमा चोट लागेको भने कुमारीको दाहिने खुट्टामा गहिरो चोट लागेको छ ।

प्रहरीले राती ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ । गाडी सडकबाट करिब नौसय मिटर तल खसेको छ । उनीहरु सबै जना भारतबाट दशै मान्नका लागि घरतर्फ आउनेक्रममा भैरहवा क्वारेन्टिनमा बसेर गाडी रिर्जव गरी गएको बुझिएको छ ।