१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपाली दुतावास लण्डनको आयोजनामा ‘नेपाल विकास बारे’ भर्चुयल सम्मेलन सम्पन्न

नेपालब्रिटेन डट कम्
२ कार्तिक २०७७, आईतवार १९:१०

लन्डन । बेलायत, आयरल्याण्ड तथा माल्टाका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले प्रवासी नेपालीहरु नेपालको विकासका साझेदार भएको बताएका छन्।

नेपाली दूतावास लन्डनद्वारा आयोजित “नेपाल विकास सम्मेलन: नेपालको विकासबारे केही विचार” नामक भर्चुयल सम्मेलनलाई शनिबार सम्बोधन गर्दै राजदूत सुवेदीले संसारभरि छरिएका नेपालीहरुलाई नेपालको विकासमा सघाउन आह्वान गरे। नेपाल सरकारले प्रवासमा रहेका नेपाली विज्ञहरुसंग रहेको सीप, क्षमता र अनुभव नेपालको विकासमा उपयोग गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालय अन्तर्गत ब्रेन गेन सेन्टर स्थापना गरेको छ। म सबै नेपाली विज्ञहरुलाई सो सेन्टरसंग आवद्ध हुन आग्रह गर्दछु,” उनले भने।

राजदूत सुवेदीले बेलायत, आयरल्याण्ड र माल्टामा झन्डै डेढ लाख नेपालीहरु बसोबास गरिरहेको बताउंदै गैर आवासीय नेपालीहरुले आफ्ना भेषभुषा, संस्कृति र खानपानद्वारा विदेशमा नेपालको चिनारी फैलाई रहेको बताए ।

आउँदो महिना आफ्नो चार वर्षे कार्यकाल पुरा गर्न लागेका राजदूत सुवेदीले नेपालको सामाजिक तथा आर्थिक विकासमा सघाएकोमा आयरल्याण्ड सरकारको प्रशंसा गरे । उनले आगामी दिनमा पनि आयरल्याण्डबाट प्राप्त भै रहने विश्वास व्यक्त गरे।

युरोपेली संघको इरास्मस कार्यक्रमको अन्तर्राष्ट्रिय शिक्षा विभागका प्रमुख जेरी ओ सुलिभानले विज्ञान र प्रविधिको यत्रो विकासका वावजुद एउटा भाइरसले पुरै संसारलाई ठप्प गरि दिनेछ भनेर एक वर्ष पहिलेसम्म कसैले पनि न सोचेको बताए। उनले यो वर्ष नर्स, चिकित्साकर्मी र शिक्षकहरुको वर्ष हो भन्दै उनीहरु कुनै पनि समाजको जगको इट्टा भएको बताए। आयरल्याण्डमा प्राथमिक र माध्यमिक विद्याला तह मा राम्रो शिक्षा प्रदान गरिने कारण ले नै युरोप मा रहेर पनि उप निवेश बनेको आफ्नो मुलुक १०० वर्ष भन्दा पनि कम समयमा तुलनात्मक रुपमा एक अग्रगामी र विकसित मुलुक बन्न सफल भएको उनले जनाए।

उनले भविष्यमा अन्तर्राष्ट्रिय सहकार्य अरू बढी महत्वपूर्ण हुने बताउंदै आगामी दिनमा पनि नेपाली विद्यार्थीहरुलाइ स्वागत गर्न आयरल्याण्ड तयार रहेको जनाए।

सुलिभानले आयरल्याण्डमा शिक्षकहरुलाई उच्च सम्मान गरिने बताउंदै उनले आयरल्याण्डका शिक्षकहरुको सीप अब मुलुक बाहिर पनि लग्नु पर्ने बेला आएको बताए। “हामीले यो क्षेत्रमा नेपालसंग पनि सहकार्य गर्ने सम्भावनाको खोजी गर्नु पर्छ,” उनले भने।

सम्मेलनमा डा. केशव मल्ल र श्रीजन पोख्रेलले कृषि क्षेत्रको बारेमा, डा नबिन पौडेलले बालबालिकाको दृष्टि क्षमताको बारेमा, प्रा हरि ज्ञवाली, डा हरि लम्साल तथा सगुन श्रेष्ठले शिक्षा क्षेत्रसंग सम्बन्धित तथा डा योगेश आचार्यले स्वास्थ्य क्षेत्रसंग सम्बन्धित कार्यपत्रहरु प्रश्तुत गरेका थिए।

यस अघि लन्डनस्थित नेपाली दूतावासले गत सेप्टेम्बर महिनामा पनि ब्रिटिश व्यवसायी तथा लगानीकर्ताहरुको सहभागितामा भर्चुयल माध्यमबाटै नेपाल विकास सम्मेलनको आयोजना गरेको थियो।