१५ चैत्र २०८०, बिहीबार
Follow Us

बडा दशैंको आज तेस्रो दिन : चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी मनाइँदै

नेपालब्रिटेन संवाददाता
३ कार्तिक २०७७, सोमबार ०५:०१

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैंको तेस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा माता भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ । चन्द्रघण्टाको आराधना गर्नाले सबै प्रकारको दुःख, कष्ट नास हुने र सबै प्रकारको बाधा हट्ने धार्मिक तथा शास्त्रीय मान्यता रहेको छ ।

चन्द्रघण्टाको आराधनाले साधकमा वीरता, निर्भयता, सौम्यता तथा विनम्रताको विकास हुने धार्मिक विश्वास छ । दशैँको पहिलो दिन घटस्थापना गरेसँगै नवदूर्गाका नौ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

आजपनि देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा नित्य पूजा मात्रै गरिँदै छ । राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्काली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पूजा गरिन्छ ।

उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामनालगायतका शक्तिपीठहरुमा विशेष पूजा गरिन्छ । कोरोना त्रासका कारण यो बर्ष सर्वसाधारणलाई मन्दिर प्रवेशमा भने रोक लगाइएको छ ।