८ बैशाख २०८१, शनिबार
Follow Us

भारतका चार राज्यमा आजबाट विद्यालय खुले

नेपालब्रिटेन संवाददाता
३ कार्तिक २०७७, सोमबार ०५:१०

नयाँदिल्ली । भारतका चार वटा राज्यमा आजदेखि विद्यालय खुलेका छन् । कोरोना भाइरसको संक्रमण दर केही कम भएपछि पञ्जाब, उत्तर प्रदेश, सिक्किम र हिमाञ्चल प्रदेशमा विद्यालय खुलेका हुन् ।

उत्तर प्रदेश र पञ्जाबमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थी विद्यालय गएका छन् । स्वास्थ्य मापदण्ड पूरा गरेर कक्षाका ५० प्रतिशत विद्यार्थीलाई मात्रै अध्यापन गर्ने व्यवस्था ति राज्यमा मिलाइएको छ ।

त्यस्तै एउटा सिटमा एक जना मात्रै राखेर दैनिक तीन घन्टा मात्रै कक्षा सञ्चालन हुने व्यवस्था गरिएको छ । हिमाञ्चल प्रदेशमा पनि कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई विद्यालय खुला गरिएको छ । सिक्किम सरकारले जाडोको बिदा र शनिबारको बिदा समेत कटाएर नयाँ शैक्षिक क्यालेन्डर तयार गरेको छ ।

मुम्बईमा सोमबारदेखि रेल सेवा समेत सञ्चालनमा आएको छ । आठ महिनादेखि बन्द रहेको रेल सेना सञ्चालनमा आएको हो । रेल सेवा बिहान साढे ८ बजेदेखि बेलुका साढे ८ बजेसम्म रेल चल्ने व्यवस्था मिलाइएको छ ।

केही दिनयता भारतमा कोरोना संक्रमण दर घटेको छ । दुई साता अघिसम्म दैनिक करिब एक लाख संक्रमित हुँदै आएका भारतमा अहिले त्यो संख्या झण्डै ५० प्रतिशतले घट्न थालेको छ ।

पछिल्लो २४ घण्टामा ५५ हजार ३५ जनामा संक्रमण देखिएको छ । योसँगै भारतमा संक्रमितको संख्या ७५ लाख ४७ हजार नाघेको छ । कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघेको छ ।