July 8, 2020
11:41 AM | 4:26 PM

एनआरएन बालबालिकाका लागि नेपाली भाषा

  20th December 2016 मा प्रकाशित

बसन्त रानाभाट ।

विदेशमा नै जन्मेर यतै हुर्केका नेपाली बालबालिकाहरुले नेपाली भाषा बोल्न नै नसक्ने हुन् कि भन्ने डर बढ्दै गएको छ। बालबालिकाहरु स्कुल जाँदाआफै बसेको मुलुकको भाषा बोल्ने, पढ्ने र सिक्ने हुँदा नेपाली भाषा राम्रोसँग बोल्न कठिन बनेको छ। आफ्ना बालबालिकाहरुले विदेशमा नै बसेरकसरी नेपाली भाषा राम्रोसँग सिक्न सक्लान् यसबारे अभिभावकहरु गम्भीर हुन थालेका छन्।

यूरोपका कुन – कुन देशमा कसरी नेपाली भाषा सिकाइने रहेछ ? यसबारे बुझ्नका लागि यो पङ्तिकारले करिव दुई साता लगाएर एउटा सागाग्री तयारपारेको थियो।

पाठशालाको सुरुवात कसरी भएका रहेछन् त ? जानकारी लिने क्रममा डेनमार्क निवासी दीपककुमार तिवारीसँगको बार्तालापले साह्रै मन छोयो। केहीबर्ष अगाडि तिवारीले आफ्नी आमालाई घुमाउनका लागि डेनमार्कमा बोलाएका रहेका छन् । डेनमार्कमा नै हुर्कँदै गरेको आफ्नो छोरा र हजुरआमा बीचमज्जाले बार्तालाप हुन सकेन छ।

हजुरआमालाई ढोग्नुपर्छ भनेर सिकाउँदा होस् वा आमाले आशिर्बाद दिँदा होस्, के भनेको भन्दै उल्टै छोराले डेनिसभाषामा आँफूलाई प्रश्न गरेको स्मरण गर्छन्। त्यही बेला देखि नै तिबारीलाई यस्तो लाग्यो कि, “बरु अभिभावकले जतिसुकै मेहनत गर्न किन नपरोस्, कम्तिमा आफ्ना छोराछोरीलाई नेपाली प्रष्ट बोल्ने र बुझ्न सक्ने बनाउन सक्नु पर्दछ।”

भाषाकै कारण हजुरआमा र नातिको माया र ममता खोसिएको महशुस गर्दै तिवारीले डेनमार्कको कोपेनहेगनमा नेपाली पाठशाला खोल्ने चासो देखाए। हाल नेपाली पाठशाला कोपेनहेगनमा बालबालिकाहरुलाई नेपाली भाषा सिकाउँदै समेत आएका छन्।

एनआरएनए बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठसँग पनि बिदेशमा बालबालिकाहरुलाई नेपाली भाषा कसरी सिकाउन सकिन्छ भन्ने बारे लामै बार्तालाप गर्ने मौक़ा मिल्यो। श्रेष्ठले भन्छन्” मेरो बच्चा फ्रेन्च, अंग्रेजी, स्पेनिस वा डच बोल्छ भनेर गर्व गर्ने होईन की, मेरो बच्चा फररर नेपाली बोल्छ र लेख्न पनि सक्छ भनेर अभिभाबकले गर्व गर्न सक्ने अवस्था हुनुपर्छ।” यसका लागि घरमा पनि आफ्ना बालबालिकाहरुसँग नेपालीमा नै कुराकानी गर्ने बानि बसाल्नु पर्दछ । तर, कतिपय अभिभावकले आफ्ना बालबालिकासँग विदेशी भाषामा नै बार्तालाप गरिदिँदा नेपाली भाषा बोल्नु पर्छभन्ने प्रेरणा नमिलेको उनको ठहर छ।

गैरआबासीय नेपाली संघ (एनआरएनए) ले यूरोप क्षेत्रमा मात्रै २७ वटा राष्ट्रिय सम्बन्वय परिषद गठन गरिसकेको छ। एउटै देशका पनि विभिन्नशहरहरुमा बाक्लो नेपाली समुदाय भेटिन्छ । तर, दुर्भाग्य नै भन्नुपर्छ , नेपाली बालबालिकाहरुलाई भाषा सिकाउनका लागि हाल सम्म यूरोपमा बेलायत, डेनमार्क, स्पेन, जर्मनी, बेल्जियम र नेदरल्यान्डका केहि शहरहरुमा मात्र प्रयास भएको पाइन्छ।

त्यसमा पनि गैरआवासीय नेपाली संघ (एनआरएन) कै पहल र कार्ययोजना अनुरूप नै भाषा कक्षा सञ्चालन भएको निकै कम भेटिएको छ। प्रायःसञ्चालन भएका पाठशालाहरु अभिभावकहरुको आफ्नै चासो र सक्रियतामा सुरु भएका छन्।

यति ठूलो सञ्जाल रहेको एनआरएनले बिदेशमा नै जन्मेर यतै हुर्केका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउनका लागि केन्द्रबाट नै हरेक राष्ट्रिय समन्वय परिषदमा लागू हुने गरि कार्ययोजना ल्याउन सक्छ कि सक्दैन ? नेपाली समुदाय रहेको क्षेत्रमा भाषा कक्षा संचालन गर्न सक्छ कि सक्दैन ? विभिन्न देशमा सञ्चालन भएका पाठशाला बारे जानकारी लिएपछि यो पङ्तिकारलाई सुझावसहित आफ्ना धारणा प्रस्तुत गर्न मन लागेको हो ।

कम्तिमा एक एनसीसी,एक पाठशाला

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले विभिन्न सामाजिक तथा परोपकारी काम गर्दै आइरहेको छ। ७४ वटा राष्ट्रिय समन्वय परिषदहरु गठन गरिसकेको गैर आबासीय नेपाली संघले अब बिदेशमा नै हुर्केका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा सिकाउँन योजना अनुरूप नै अगाडि बढ्नजरूरी देखिन्छ ।

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले नै कम्तिमा “एक एनसीसी, एक पाठशाला” को कार्यक्रम लागु गर्न सकेमा बिदेशमा नैजन्मेका बालबालिकाहरुलाई नेपाली भाषा सिक्न ठुलो हौसला प्रदान हुनेमा दुई मत नै छैन।

अर्कोतर्फ मातृभुमि प्रति लगाव बढ्दै गएमा यिनै बालबालिकाहरुले भोलि एनआरएनको नेतृत्व सम्हाल्न अग्रसर रहनेछन्। गैरआवासीय नेपालीसंघका विभिन्न कार्यदलहरु मध्ये नेपाली भाषा र सँस्कृतिसँग सम्बन्धित कार्यदलले चासो राखेर यो अभियानलाई प्रभावकारी बनाउन जरूरी छ।

बालबालिकालाई के सिकाउने ? पाठ्यक्रम आवाश्यक पर्दैन ?

विभिन्न देशमा सञ्चालन भएका नेपाली पाठशाला बारे जानकारी लिँदा सबै भन्दा ठूलो चुनौति बच्चाहरुलाई के पढाउने र कसरी भाषा सिकाउने भन्नेपाइएको छ। बालबालिकाहरुको उमेर र स्तर एउटै हुँदैन,एउटा बच्चा ५ बर्षको र अर्को १४ बर्षको हुन सक्छ । यी दुवैलाई कसरी भाषा सिकाउने त योआफैमा चुनौतिपूर्ण रहेको छ। तर, प्रायः पाठशालाहरुमा उमेर र स्तर अनुसार कक्षा छुट्टाएर भाषा सिकाएको पाइन्छ। तर सबै ठाउँहरुमा फरक–फरककक्षा राखेर पढाउँन सम्भव होला त ?

केही अभिभावकहरुले नेपाली भाषाका लागि पाठ्यक्रम नै बनाएर सञ्चालन गर्न निकै ग्राहो हुने धारणा राखेका छन्। एक त स्कुलमा बच्चाहरु केन्द्रित हुनुपर्ने त्यस माथि पुनः नेपाली भाषा कक्षामा पाठ्यक्रम अनुसार नै पढाई हुँदा थप बच्चाहरुलाई बोझ हुने त होइन कतिपय अभिभावकको प्रश्न रहेकोछ।

तर, कतिपयले भने नेपाली भाषा राम्रोसँग लेख्न र पढ्न सिकाउने नै हो भने पाठ्यक्रम तयार गर्नु पर्ने विचार राखेका छन्। नेपालमा नै पढाइने पाठ्यक्रम ल्याएर त यहाँका बच्चाहरुलाई प्रभावकारी नहोला । तर, निकै सरल ढंगको पाठ्यक्रम तयार गर्नुपर्ने अभिभावकहरु धारणा रहेको छ। डेनिस टु नेपाली, अंग्रेजी टु नेपाली, स्पेनीस टु नेपाली, डच टु नेपाली यसरी पाठ्यक्रम तयार गर्न सके बच्चाहरुलाई सिकाउन सजिलो हुन्थ्यो कि भन्ने बिचार समेत भेटियो।

यसका लागि पनि गैरआवासीय नेपाली संघले तत्काल चासो दिन जरूरी छ। नेपाली भाषा लेख्न र पढ्न चाहने बालबालिकाहरुका लागि उनिहरुको स्तरलाई हेरेर पाठ्यक्रम तयार गरी सञ्चालन भइरहेका पाठशालामा पुर्याइदिन सके पनि अभिभावकहरुलाई ठूलो हौसला मिल्ने थियो।

पाठशाला सुरु हुने जस्तै बन्द हुने क्रम पनि बढ्दो

बालबालिकाहरूलाई नेपाली भाषा सिकाउन अभिभावकले समेत समय निकाल्नुपर्ने हुँदा थप चुनौतीपूर्ण भने रहेको छ। एक त आफ्नै काम, अर्कोतर्फ बालबालिकालाई नियमित स्कुल पुर्याउनुपर्ने र हप्ताको अन्त्यतिर बचेको केही समयमा पनि नेपाली भाषाका लागि बालबालिकालाई ल्याउन, लैजानुपर्दा निकै कठीन हुने गरेको छ। एउटै अभिभावकका दुई वा सो भन्दा बढी फरक उमेर समूहका बालबालिकाहरु भएमा, आफू रहेको स्थानबाट पाठशाला निकै टाढा रहेको खण्डमा पनि अभिभावकलाई धेरै नै समस्या हुने गरेको छ।

यिनै कारणले कतिपय ठाउँहरुमा पाठशाला सुरु भएर पनि बन्द भएका भेटिए। नेपाली भाषा कक्षामा बालबालिकाहरु नियमित रुपमा उपस्थिति गराउन नसक्नु यसको प्रमुख कारण मानिएको छ। यो अलवा भाषा सिकाउने कक्षा कोठाको अभाव, उपयुक्त सेलेबस प्राप्त नहुनु र अर्को आर्थिक पक्ष पनिरहेको छ।

कसरी बनाउन सकिन्छ, दिगो र व्यवस्थित पाठशाला ?

अभिभावकहरुको आफ्नै सक्रियता र चासोले सुरु भएका विभिन्न पाठशालाहरुलाई अझ ब्यवस्थित र दिगो बनाउने जिम्मेवारी एनआरएन,लगायत विभिन्न संघ संस्था तथा नेपाली समुदायले लिन सक्नुपर्छ। आफ्ना बालबालिकाहरुलाई जस्तोसुकै कठिन परिस्थितिमा पनि नेपाली भाषा लेख्न र पढ्नसिकाउन अभिभावकहरु उत्साहित भएको पाइन्छ। यसलाई दिगो र ब्यवस्थित बनाउने जिम्मेवारीको नेतृत्व गैरआवासीय नेपाली संघले लिन सक्नुपर्छ।

एनआरएन केन्द्रबाट नै एउटा नीति र योजना बनाएर हरेक मुलुकहरुमा बालबालिकाहरुलाई कुनै न कुनै रुपमा नेपाली भाषा सिक्ने वातावरण तय गर्नसक्नुपर्छ। दोस्रो पुस्ताका एनआरएन बालबालिकाहरुलाई मातृभूमिप्रतिको प्रेम तथा नेपाली भाषा र संस्कृतिको जगेर्नाका लागि संघले बृहतयोजनासहित पहलकदमी चाल्न जरूरी छ।

ठूलै परिवर्तन आएको छ, त्यसैले ढीला नगरौं

नेपाली पाठशालामा पुगेपछि एनआरएन बालबालिकाहरुले कखरा मात्र सिकेका छैनन्, उनीहरुमा ठूलै परिवर्तन आएको छ। राष्ट्रिय गान कण्ठस्त सुनाउने मात्र हैन, नेपाली गीतहरुमा मनै प्रफुल्ल गर्ने गरी नाच्न सुरु गरेका छन्। कतिपय पाठशालाहरुमा बालबालिकाहरु बीच विभिन्न प्रतिस्पर्धा गराउँदै आएको पाइन्छ यसले बाल क्षमताको झनै बिकास भएको छ। पाठशालाकै कारण नेपाली बालबालिकाहरु एक अर्का बीच घुलमिल हुने अवसरसमेत मिलेको छ।

यूरोपमा मात्र हैन, संसारका विभिन्न मुलुकहरुमा नेपालीहरुको बसाइ दिन प्रतिदिन बाक्लिँदै गएको छ।नेपाली बालबालिकाहरु बिदेशमा नै जन्मने रयतै हुर्कने क्रम पनि बढ्दो छ। आफ्ना बालबालिकाहरुले नेपाली भाषा राम्रोसँग बोल्न सकुन् , नेपाली संस्कृतिबारे बुझ्न सकुन् भन्ने तपाईको चाहना होभने कुनै न कुनै रुपमा वातावरण तय गर्न सक्नु पर्छ।

“एकपटकको नेपाली सधैंको नेपाली” भन्दा होस् वा “नेपालीका लागि नेपाली” किन नहोस् यी सबै उद्देश्यभित्र बालबालिकाहरुको अधिकार भनेलुकेको छ। मातृभाषा सिक्नबाट कुनै पनि बालबच्चाहरु वञ्चित हुने अवस्था नहोस् , त्यसैले ढिला नगरौं।

प्रतिक्रिया