१६ चैत्र २०८०, शुक्रबार
Follow Us

संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

नेपालब्रिटेन संवाददाता
४ कार्तिक २०७७, मंगलवार ११:४४

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी भएको भन्दै फिर्ता लिन माग गरेका छन् । नेता नेपालले सरकारको निर्णय विभेदकारी, गैरजिम्मेवारपूर्ण र जनताप्रति अनुत्तरदायी भनी कडा टिप्पणी गरेका छन् । सरकारको निर्णयको सर्वत्र आलोचना भइरहेका बेला सत्तारुढ दलका वरिष्ठ नेता नेपालको असन्तुष्टि विज्ञप्तिमार्फत आएको छ ।

सरकारको निर्णयले जनतामा आतंक सिर्जना गरेको भन्दै नेता नेपालले सबै नागरिकको उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन माग गरेका छन् । मंगलबार विज्ञप्ति निकालेर नेता नेपालले सबै संक्रमितको उपचार सरकारले गर्नुपर्नेमा त्यसो नगर्दा जनतामा मारमा परेको भनेका छन् ।

उनले सरकारको निर्णयका आधारमा सरकारी अस्पतालहरूले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरू थप मारमा परेको उल्लेख गरेका छन् । नेता नेपालले संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रूपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय बिल्कुल अनुचित भनेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सरकारले सबै नागरिकको उपचार नगर्ने निर्णय लिएको जानकारी केही दिन पहिले दिएका थिए ।