४ बैशाख २०८१, मंगलवार
Follow Us

कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
५ कार्तिक २०७७, बुधबार ०६:५८

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बुटवलमा २, धनगढी, धरान र म्याग्दीमा एक एक जनाको मृत्यु भएको हो । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचारत दुई जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमति बुटवल उपमहानगरपालिका ११ का ४७ वर्षीय पुरुषको आज बिहान १ बजेर १० मिनेट जाँदा र बुटवल उपमहानगरपालिका १७ मोतिपुरका ८१ वर्षीय पुरुषको बिहान ५ बजे कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

बुटवल ११ का पुरुष २४ असोजमा अस्पतालमा भर्ना भएका थिए भने बुटवल १७ मोतिपुरका पुरुष २७ असोजमा अस्पतालमा भर्ना भएका थिए । त्यस्तै सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–२ का ६८ वर्षीय एक पुरुषको सेती प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको हो ।

संक्रमण पुष्टि भएपछि घरमै बसेका ती संक्रमितको मंगलबार अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

यो सँगै धनगढीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । उता, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार धरान उपमहानगरपालिका १६ का स्थानीय ९० वर्षीय बृद्धको उपचारका क्रममा मंगलबार बेलुका ४ बजे मृत्यु भएको हो । उच्च रक्तचाप र मधुमेहबाट पीडित बृद्धमा असोज ३० गते कोरोना भाइरसको रिपोर्ट पोजिटिभ देखिएको थियो ।

त्यस्तै म्याग्दीमा थप एक जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्र्तगत कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्ष (आइसीयू) मा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५ वर्षीय पुरुषको मङ्गलवार राति मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।