१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपालमा हालसम्मकै सबैभन्दा धेरै ५७४३ संक्रमित थपिए

नेपालब्रिटेन संवाददाता
५ कार्तिक २०७७, बुधबार ११:१२

काठमाडौं । नेपालमा कोरोना भाइरसका थप ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै एकैदिनको सबैभन्दा धेरै संक्रमण संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज २० हजार ११८ पीसीआर परीक्षण गरिएको थियो ।

यससँगै हालसम्म संक्रमित हुनेको कुल संख्या १ लाख ४४ हजार ४७६ पुगेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए । गौतमका अनुसार बुधबार देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको छ । संस्थागत आइसोलेसनमा १४ हजार ६७६ रहेको छ । यसैगरी होम आइसोलेसनमा २९ हजार ८०० रहेका छन् ।

२४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ हजार ९९६ मात्रै रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ । डिस्चार्ज हुनेको संख्या कम हुँदा सक्रिय संक्रमितको संख्या ह्वात्तै बढेर गएको छ ।

उपत्यकामा थपिए ३१०७ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दाा धेरै कोरोना संक्रमित थपिएकाछन् । देशभर २० हजार ११८ पीसीआर परीक्षण गर्दा ५ हजार ७४३ संक्रमति थपिएकोमा काठमाडौं उपत्यकाभित्र मात्रै ३ हजार १०७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्रै २ हजार ३९१ नयाँ संक्रमित थपिएका छन् । यसैगरी ललितपुरमा ५४३ जना र भक्तपुरमा १७३ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा हालसम्म ६२ हजार ५८६ जनामा संक्रमण पुष्टि भैसकेको छ ।

थप २६ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २९९६ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ ।