७ बैशाख २०८१, शुक्रबार
Follow Us

संकटको घडीमा अविभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ : पूर्व राजा ज्ञानेन्द्र शाह

नेपालब्रिटेन संवाददाता
७ कार्तिक २०७७, शुक्रबार ०४:०४

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले विपत्तिसंग भिड्दा नागरिक जीवन सहज र सूरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा जनताको जीवन अत्यन्त कष्टकर भएको बताएका छन । दशैंका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले प्राकृतिक विपत्ति मनाव वशको कूरा नभएपनि जिम्बेवार निकायले त्यसको व्यवस्थापनका राम्रो काम गर्न नसकेको बताएका हुन । पूर्व राजा शाहले संकटको घडीमा अविभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्दै अहिले नेपाली जनता अविभावक विहीन टूहुरा बनेको पीडाबोध भएको सन्देशमा उल्लेख गरेका छन ।

उनले जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हूनुपर्नेमा जोड दिएका छन । आपसी समन्वय, सदभाव र सहकार्यलाई छाडेर व्यक्तिवाद, समुहबादतर्फ उन्मुख हुँदा स्थिर, सूदृढ र सन्तोषजनक राष्ट्रिय परिणाम प्राप्त हुन नसक्ने पूर्व राजाको सन्देशमा उल्लेख छ । आहार बिहार, आचार बिचार, विधि व्यवहार, शासन प्रशासन एवं पद्दति प्रणाली हाम्रै प्रकृति र संस्कृति अनूरूप भएमात्रै स्वस्थ, सूखी, शान्त, सुरक्षित रहन सकिने पूर्वराजाको भनाइ छ । विदेशमा गएर रोजगारीमा लागेकाहरू संकटमा भएर देशभित्रै श्रम, शिप र सामथ्र्यको सदूपयोग गर्ने कूनै बन्दोबस्त नभएकोमा पनि पूर्व राजाले चिन्ता प्रकट गरेका छन ।

देश, समाज र परिवारको मोह ममताले आएकाहरू फेरि कामका लागि विदेशतिरै लर्को लागेको मार्मिक अवस्था रहेको भन्दै उनले राहत, रोजगार र रोगको उपचार खोज्दै भौतारिएका जन समुहलाई भरपर्दो आड आधारको आवश्यकता राज्यले महशुष गराउन नसकेको जनाएका छन । दैनिक जीविकाको अत्यावश्यक वस्तूको मूल्यबृद्धि, अभाव र गूणस्तरीयतामा ह्रास जस्ता बिषयले समेत जनजीवन पिरोलिएको भन्दै पूर्व राजा शाहले चासो जनाएका छन । समाजमा अनेक अपराधिक गतिबिधि र पिशाच प्रवृत्ति बढ्दो रहेको भन्दै उनले सन्देशमा त्यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको पनि उल्लेख गरेका छन ।

पूर्वराजाको सन्देशमा आज सबैले बढ्दो आशूरी र भष्मासूरी प्रवत्तिबाट उन्मूक्ति चाहिरहेको पनि उल्लेख छ । पूर्वराजाले नेपाललाई चिनौं, नेपाललाई बुझौं, नेपाली भएर बांचौं अनि नेपाल र नेपालीको निम्ति सोचौं नेपालकै हितका खातिर र नेपाली शैलि अंगालेर नेपाल उज्यालो बाटोतिर लैजाऔं भन्दै आग्रह पनि गरेका छन । पूर्वराजाले सन्देशमा समस्त नेपालीहरुमा सूख, सु–स्वास्थ्य,शान्ति र सम्बृद्धिको कामना गरेका छन ।