१२ बैशाख २०८१, बुधबार
Follow Us

आज फुलपाती भित्र्याइँदै, टुंडिखेलमा सेनाको बढाईं

नेपालब्रिटेन संवाददाता
७ कार्तिक २०७७, शुक्रबार ०४:१०

काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फुलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फुलपाती भित्र्याएर मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

फुलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने बताईएको छ ।

हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । आजै सेनाले सैनिक मञ्च टुडिखेलमा फुलपाती बढाइ कार्यक्रम समेत गर्दैछ । नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटे पिङले दशैँको रौनकलाई अझ बढाउँछ ।