१५ चैत्र २०८०, बिहीबार
Follow Us

जदौ काठमाडौँ’ लगायत तीन ओटा कृतिको सामूहिक विमोचन

नेपालब्रिटेन डट कम्
८ कार्तिक २०७७, शनिबार १३:०५

लन्डन– कवि कृष्ण उपाध्यायको ‘जदौ काठमान्डू’ लगायत तीन जना लेखकका तीन ओटा साहित्यिक कृतिको शुक्रबार सामूहिक विमोचन गरिएको छ।

समकालीन साहित्य प्रतिष्ठान, बेलायतद्वारा भर्चुएल माध्यमद्वारा आयोजित कार्यक्रममा वरिष्ठ समालोचक प्रा. डा. गोविन्द प्रसाद भट्टराईले वासुदेव अधिकारीको कृति ’बस्तीमा आगो,’ अमेरिकामा बसोबास गर्ने साहित्यकार भारती गौतमको कृति ‘विगत र बाडुली‘ र डा. उपाध्यायको कविता संग्रह ‘जदौ काठमान्डू’ को विमोचन गर्नु भयो।

सो अवसरमा बोल्दै प्रा. भट्टराईले नेपाल बाहिर बसोबास गरिरहेका नेपाली साहित्यकारहरुको रचना कृति डायस्पोरिक साहित्यले नेपाली साहित्यलाई समृद्ध बनाइ रहेको बताउनु भयो । उहाँले प्रवासमा रहेका नेपाली लेखक, साहित्यकारहरुलाई कलम चलाई रहन आग्रह गर्नुभयो । डायोस्पोरा लेखनको चर्चा गर्दै नेपाल बाहिरबाट राम्रा साहित्यिक कृतिहरु प्रकाशन भइरहकोमा उहाले खुसी व्यक्त गर्नु भयो ।

विमोचित कृति ‘बस्तीमा आगो’को समीक्षा गर्दै डा. लेख प्रसाद निरौलाले अधिकारीको कृति लकडाउनका बेला संस्मरणको रुपमा आएको बताउनु भयो।
समीक्षक डा. विदुर चालिसेले भारती गौतमको कृति ‘विगत र बाडुली’मा संवेदनात्मक यथार्थ घटनाको प्रस्तुती रहेको बताउनु भयो ।
अर्का समीक्षक प्रा. डा. लक्ष्मण प्रसाद गौतमले ‘जदौ काठमान्डू’ मा कविले बेलायतको परिवेश र सन्दर्भ राम्रोसंग उजागर गरेको बताउनु भयो। “यो कविता संग्रह भाव, अनुभूति र विचारका विविधतामय अभिव्यक्तिको संग्रह हो,“ गौतमले भन्नु भयो । “अरुले काठमाडौँसंग पहिचान माग्छन्, तर काठमाडौँले स्वयम् पहिचान मागी रहेको छ। त्यो विरोधाभास कविले देखाउनु भएको छ। “

कवि वासुदेव अधिकारीले आफ्नो कवितासङ्ग्रह बस्तिमा आगो लकडाउनको बेला लेखिएको काव्यिक डायरी हो भन्नु भयो ।
अमेरिका निवासी साहित्यकार भारती गौतमले आफ्नो जीवनको खुसी र वियोगलाई अक्षरमार्फत व्यक्त गरेको कुरा बताउनु भयो ।
कवि कृष्ण उपाध्यायले आफ्नो पहिलो कृति ‘प्रथम पुरुष’ पाठकले रुचाइ दिएकाले आफुले आफ्ना फुटकर कविताहरु समेटेर दोश्रो कृति ‘जदौ काठमान्डू’ प्रकाशन गरेको बताउनु भयो। वास्तवमा यो मलाई ‘प्रथम पुरुष’कै फुटनोट जस्तो लाग्छ। उपाध्यायले आफुले अहिले ’महापुरुष’ भन्ने अर्को काव्यमा काम गरीरहेको पनि बताउनु भयो।

कार्यक्रमका सभाध्यक्ष तथा समकालीन साहित्य प्रतिष्ठान, बेलायतका अध्यक्ष तथा नियात्राकार कृष्ण बजगाईंले सन् २०१४ मा स्थापित प्रतिष्ठानले ‘प्रवासन’ अनुसन्धानमूलक अर्धवार्षिक साहित्यिक जर्नल, समकालीन साहित्य डट कम र साहित्यिक पुस्तकहरु प्रकाशन गरिरहको जानकारी दिनु भयो ।

यादव भट्टराईले संचालन गर्नु भएको उक्त कार्यक्रममा श्रीओम श्रेष्ठ रोदन, डा. सावित्री श्रेष्ठ, छविरमण सिलवाल, विश्वराज अधिकारी आदिले बोल्नु भएको थियो।