१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपालमा भुक्का टुरिस्ट नै बढी

नेपालब्रिटेन डट कम्
५ पुष २०७३, मंगलवार १२:४९

विन्दु कोइराला सुवेदी, उपाध्यक्ष (वाणिज्य) पोखरा उद्योग वाणिज्य संघ
पश्चिमाञ्चल क्षेत्रमा पेय पदार्थको डिलरसिपकी सञ्चालक विन्दु कोइराला सुवेदी उद्योग वाणिज्य महासंघ पोखराको वाणिज्यतर्फकी उपाध्यक्ष पनि हुन् । केही समयअघि कोइराला नेतृत्वको उद्योग वाणिज्य महासंघले पर्यटकीय नगरी पोखरामा महोत्सव सञ्चालन गरेको थियो । महोत्सवमा पर्यटनलगायत सबै क्षेत्रको सहभागिता थियो । पश्चिमाञ्चलमा लिंकर्स व्यवसाय र यसको सम्भावनाबारे उनले कुमार राउतले गरेको कुराकानी :

० के व्यवसाय गर्नुहुन्छ ?
– कन्जुमर आइटमको व्यवसाय हो मेरो । पश्चिमाञ्चल क्षेत्रको लिंकर (पेय पदार्थ) को पार्ट हेर्छौं ।

० पेय पदार्थको व्यवसाय कस्तो छ ?
– ठीकै छ भन्नुप-यो, पर्यटकीय क्षेत्र पोखरामा भएकाले हाम्रा उपभोक्ता विशेष गरी पर्यटक नै हुन् ।

० कति मूल्यसम्मको रक्सी पाइन्छ ?
– महँगा रक्सी सबै आयातित हुन् । अहिले मूल्य तीन लाख रुपैयाँदेखि न्यूनतम मूल्यसम्मका रक्सीहरू बजारमा खपत हुन्छन् ।

० खपत बढी कति मूल्य पर्ने रक्सीको हुन्छ ?
– पाँचदेखि ६ हजार रुपैयाँ पर्ने रक्सीको कारोबार बढी हुन्छ । पर्यटक आउने होटलहरूमा यस्तै मूल्यका रक्सी बढी खपत भएको पाइन्छ ।

० नेपाली उपभोक्ता कतिको आउँछन् ?
– विशेष गरी टेबुल वाइनका उपभोक्ता बढ्दै गएका छन् । रुम टेम्प्रेचरमा रेड वाइन र दिउँसो सेतो वाइनको प्रयोग गर्ने नेपाली उपभोक्ताहरू विस्तारै बढ्दै गएका छन् ।

० कहाँबाट आउँछ नेपालमा रक्सी ?
– थाइल्यान्ड, जापान र सिंगापुरबाट आएको बियर बिक्री बढी हुन्छ भने विभिन्न नामको स्कच पनि बिक्री हुन्छन् । समुद्री किनारमा जति बढी समय गाड्यो, त्यति नै महँगो हुन्छ । १२ वर्षसम्म गाडेको स्कच बढी प्रयोग र महँगो हुन्छ ।

० नेपालमा पनि वाइन उत्पादन हुन्छ ?
– केही फ्याक्ट्री छन्, उनीहरूले टेबल वाइन उत्पादन गर्दछन् । पछिल्लो समय हर्बल ड्रिंक्सका रूपमा विकास गरिएको छ । हर्बल डिं«क्स वाइनमा जडिबुटी मिसाएर सेवनयोग्य बनाइन्छ ।

० स्वदेशमा उत्पादित वाइन नेपालीले किन्न सक्छन् त ?
– यो व्यक्तिमा भरपर्ने कुरा हो, आवश्यकता छ भने औसत नेपालीले पनि किन्न सक्छन् । धादिङमा बनेको वाइन नेपाली उपभोक्तालाई मध्यनजर गरेर उत्पादन गरिएको हो जस्तो लाग्छ ।

० मुस्ताङको मार्फा पनि चर्चित नै छ नि ?
– तर, त्यो ठूलो भोलममा बजारमा आएको मैले अहिलेसम्म देख्न पाएको छैन ।

० रक्सी उपभोक्ता बढेको राम्रो हो ?
– मैले टुरिजम सिटीमा व्यवसाय गरेकी छु । यो पर्यटकका लागि आवश्यक पनि छ । स्वास्थ्यले साथ दिन्छ भने आफ्नो आय हेरेर सेवन गर्ने पदार्थ हो रक्सी । उपभोक्ता बढ्नु नबढ्नु भन्दा पनि हामीले पर्यटकलाई लक्षित गरेर व्यवसाय सञ्चालन गरेको हौं ।

० तर, नेपाली समाजमा रक्सीलाई राम्रो दृष्टिले हेरिँदैन नि ?
– हामीकहाँ नीति नभएर हो । यसमा पनि हामीले बाहिरको हेरेर नीति निर्माण गर्नुपर्छ जस्तो लाग्छ । लिंकर पसलमा निश्चित उमेर पुगेका व्यक्तिलाई मात्र प्रवेश दिने चलन हामीकहाँ छैन । पहिला दाल चामलसँगै रक्सी बेच्ने चलन थियो । अहिले लाइसेन्स लिनुपर्ने र बेग्लै पसल राख्नुपर्ने व्यवस्था छ ।

० तपाईंहरू पर्यटकका लागि नै बेच्नुहुन्छ ?
– हो, हामी पर्यटकीय क्षेत्रमा व्यवसाय गरेर बसेका छौं । तर हामीकहाँ भुक्का टुरिस्ट बढी आउँछन् । भुक्का भनेको मिनिरल वाटर पनि रिफिल गर्ने ठाउँ खोज्दै हिँड्ने पर्यटक हुन् । पर्यटन विकासका लागि हामीले भुटानबाट सिक्नुपर्छ जस्तो लाग्छ । त्यहाँ एउटा टुरिस्टले न्यूनतम यति खर्च गर्नैपर्ने नियम छ ।

० नेपाल आउने सबै भुक्का पर्यटक हुन् त ?
– सबै भुक्का भनेकी होइन, प्लेन चार्टर्ड गरेर आउने पर्यटकहरू पनि हुन्छन् । तर पर्यटकका लागि राज्यले नीति बनाउँदा भुटानको जस्तो बनायो भने राम्रो हुन्छ भन्न खोजेको मात्र हुँ ।

० त्यसो भए व्यवसायबाट सन्तुष्ट हुनुहुन्न ?
– असन्तुष्ट पनि छैन, बैंक ग्यारेन्टी देखाएर सामान ल्यायो, बजारमा उधारोमा जान्छ । हाम्रो लगानी क्रेडिटमा जान्छ । विदेशबाट ल्याएको दुई कार्टुन रक्सी बेच्यो भने पनि दुई अढाई लाख रुपैयाँ बजारमा जान्छ । ट्रान्जेक्सन हुने, तर बजारमा पैसा फस्ने भएकाले केही असन्तुष्टि नभएको होइन ।

० अरु व्यवसाय पनि होला नि ?
– त्यस्तो व्यवसाय खासै छैन, तर २–३ वटा बिजनेस अगाडि आएको छ । त्यसका लागि मनस्थिति बनाउँदैछु । निकट भविष्यमा के होला, अहिले भन्न सक्ने अवस्था छैन ।

० कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न के गर्नुपर्ला ?
– हामीकहाँ कृषि क्षेत्रको ठूलो सम्भावना छ । लिडरसिपमा भएका व्यक्तिहरूले यसलाई प्राथमिकतामा राख्नुपर्छ । आफ्नो फाइदाभन्दा पनि राज्यलाई फाइदा हुने कृषि नीति बन्नुपर्छ भन्ने मेरो मान्यता हो ।

० कसरी व्यवसायी बन्नुभयो ?
– जब देशमा आरक्षणको व्यवस्था सुरु भयो, त्यसपछि आफैंले केही गर्नुपर्छ भन्ने सोच बनाउन थालें । त्यसका लागि आत्मनिर्भर बन्न जरुरी छ । बाहुन समुदायको भएका कारण आफू योग्य हुँदाहुँदै पनि जातजातिको नाममा अरुलाई अवसर दिनुपर्ने रहेछ, त्यो भन्दा व्यवसाय नै ठीक लाग्यो ।

० कस्तो परिवारमा हुर्कनु भयो ?
– ठीकै भन्नुपर्छ, बुबाको जागिरसँगै खेतीपाती पनि थियो । म माइली छोरी हुँ, दिदीको पनि राम्रै व्यवस्था छ । बहिनी नर्सिङ पेसामा थिइन्, उनीहरू अहिले अमेरिकामा छन् । दाजु लामो समय यूके बसेर नेपाल फर्कनु भएको छ । भाइ इन्जिनियर छ ।

० व्यवसायमा श्रीमान्को सहयोग होला नि ?
– हामी दुवैको एउटै पेसा हो, सहयोग आदान–प्रदान भइरहेको छ । जेठाजु, देवर सरकारी सेवामा हुनुहुन्छ ।

० प्रेम विवाह गर्नुभएको हो ?
– पे्रम विवाह नै भन्नुपर्ला, यसबारे त्योभन्दा बढी कुरा नखोतलौं होला ।

० छोराछोरी ?
– छोरी बीबीए पढ्दैछिन्, छोरा एमबीबीएस गर्दैछ ।

० जिन्दगी सोचेजस्तै चलेको छ ?
– ब्यालेन्समा छ, लभलाइफमा सन्तुष्ट छु । सोचेजस्तो सबै कहाँ हुन्छ जीवन ? त्यस्तो ठूलो आम्दानी गर्न नसके पनि जीवन ठीकैसँग चलिरहेको छ ।