१६ चैत्र २०८०, शुक्रबार
Follow Us

त्यो बलात्कारी !

नेपालब्रिटेन डट कम्
९ कार्तिक २०७७, आईतवार १७:४३


ददि सापकोटा ।

साँझमा बाहिर एक्लै निस्कन महिलाहरु डराउँछन् । एकलासको बाटो हिँड्नुपरे दस पटक सोच्नुपर्छ । वरिपरि बस्ती नभएको ठाउँ पार गर्नुपर्दा दाजुभाइ वा कोही भरपर्नेको साथ खोजिन्छ । पूरा विश्वास नभएका पुरूषसँग तर्केर हिँड्नैपर्छ । कतै बलात्कृत पो भइन्छ कि भन्ने डरले यस्ता अक्कल अपनाउनु महिलाहरुको बाध्यता हो । यस्तो क्रियाकलाप जीवजन्तुमा पनि हुन्छ । चाखलाग्दो पक्ष के छ भने बलात्कृत हुनबाट बच्न जीवजन्तुहरुले झन् धेरै जुक्ति अपनाउने गर्छन् । किनभने जीवजन्तुमा पोथीहरु अझ धेरै बलात्कृत हुन्छन् । आँखा झिमिक्क गर्न नपाउँदै पटकपटक बलात्कृत हुनुपर्छ ।

हुन त यौनाकांक्षा जागेपछि वरिपरिका भालेमध्ये उपयुक्त भाले रोज्नु पोथीहरुको उत्तम बीज छान्ने एउटा गतिलो उपाय हो । बेलैमा एउटा भाले ओगटेर बस्नु अन्य भालेबाट बलात्कृत नहुने उपाय पनि हो । त्यसरी घरजम गरिहाले आफ्नै भालेले सुरक्षा दिन्छ । तर पोथीहरुले यो तरिका अपनाउन नपाउँदै बलात्कृत भएमा के गर्ने ?

यस्तो अवस्थामा इच्छाविपरीतको गर्भ रोक्ने अक्कल पनि हुन्छ पोथीहरुसित । बलात्कृत हुनबाट बच्ने पहिलो तरिका त पोथीहरु आफूले नरूचाउने वा इच्छाविपरीतका भालेहरुको वरिपरि नै नदेखिनु हो । त्यस्ता हमलाकारी, जबर्जस्ती गर्ने भाले कुनकुन हुन् भन्ने धेरै पोथीले अनुमान लगाएका हुन्छन् । तिनको अघिल्लो वर्षहरुको अनुभवले पनि बताउँछ । हाउभाउले पनि सङ्केत गर्छ । तिनबाट छलिएर अर्कै बाटो हिँड्छन् । त्यस्ता भाले नजिक पर्दा पनि पोथीहरु बुर्कुसी मारेर भाग्छन्, जोगिन्छन् । पोथीहरुमा ‘लौ बलात्कारी आयो’ भन्ने आतंक फैलिइहाल्छ ।

तर टाढा बस्दाबस्दै पनि बलात्कारीहरुले पोथीलाई झुक्याउँछन् । लुकीलुकी पोथीको नजिक पुग्छन् । दाउ हेरेर बस्ने बलात्कारी भालेहरुले पोथीलाई लखेटेर भुत्लामा अँठ्याउँछन् । न्याँकेर हलचल गर्नै नसक्ने बनाएपछि जबर्जस्ती गर्छन् । यस्तो अवस्थामा पोथी कसरी बच्ने ? पोथीसित यसको पनि अक्कल नभएको भने होइन । त्यस्ता पोथीले कारूणिक स्वर निकालेर कराउँछन् । ‘बलात्कार भएँ, लौन बचाऊ’ भन्ने सन्देश दिने पोथीहरुको स्वर अलग्गै हुन्छ ।

हारगुहार मागेको स्वर आफ्नो प्रेमी भाले भए उसलाई सुनाउने र नभएमा वरिपरिका अन्य बलियालाई सुनाउँछन् । यस्तो स्वर सुन्नासाथ पोथीको मूली भाले दगुर्दै आउँछ । बलात्कारको प्रयास गर्ने भालेलाई उसले तत्कालै गलहत्याउँछ । प्रेमी भाले रहेनछ भने पनि वरिपरिका अन्य भाले आएर त्यो भालेको धुलाइ गर्छन् । किनभने आफूले नपाए पनि डाहा गर्ने भालेहरुले अरुले मौका लिएको देख्न सक्दैनन् ।

तर यो तरिकाले पनि सधैं काम गर्छ भन्ने निश्चित हुँदैन । किनकि त्यस्ता भाले टाढा रहेछन् भने पोथीको वेदना नसुन्न सक्छन् । यस्तो बेला के गर्ने ? पोथीसँग यसबाट बच्ने शरीरभित्रै संयन्त्र पनि हुन्छ । यस्तो बेला त्यस्ता भालेले गुप्ताङ्गभित्र छोडेको वीर्यलाई पोथीले बाहिर फालिदिन्छे । कहिलेकाहीँ त पोथीहरुले भाले आफ्नो ढाडबाट नओर्लिंदै यस्तो वीर्य तल फालिसकेका हुन्छन् । अर्थात् चराको गुप्ताङ्गको भित्री भागमा ढकनी जस्तो संयन्त्र हुन्छ, जसले भित्र जान दिने कि बाहिरि सतहबाटै मिल्काइदिने भन्ने निर्णय गर्न सक्छ ।

सम्भवतः यो तरिका चराहरुमा मात्रै नभएर गाई, भैंसी, बाख्रा, घोडालगायतका जनावरमा पनि लागू हुन्छ । किनभने गाउँघरमा यस्ता पाल्तु जनावरले पनि अलि कमजोर वा साना भालेहरुले सम्भोगको प्रयास गर्दा दौडिने, पुट्ठा दायाँबायाँ हल्लाएर भालेलाई आफ्नो शरीरमा अडिन नदिने, खुट्टाले हान्ने गरेको प्रशस्त देखिन्छ । पोथीले सम्भोग गराउँदा नै कुन भालेको वीर्य डिम्बसम्म पुग्न दिने र कुनचाहिँको नदिने निर्णय आनो प्रजननको मार्गमै छेकबार गर्न सक्छे ।

कतिपय अवस्थामा त जबर्जस्ती, करकाप र कुनै सङ्केतबिना नै विभिन्न भालेहरुको बीजको भिन्नता पोथीले थाहा पाउँछे । त्यो कसरी पत्ता लगाउँछे भन्नेचाहिँ अहिलेसम्मका लागि रहस्यमय नै छ । वैज्ञानिकहरुका अनुसार यौनाङ्गको सतहमा वीर्य चलखेल गर्न थालेपछि पोथीको प्रजनन तन्तु (रेप्रोडक्टिभ टिस्यु) ले ती स्वीकार गर्न उपयुक्त छन् कि छैनन् भन्ने थाहा पाउँछ । भालेहरुको चाहना पनि पोथीहरुले आफ्नो वीर्य सकभर धेरै प्रयोग गरुन् भन्ने हुन्छ । त्यसैले भालेहरुले सकभर धेरै वीर्य छोड्न खोज्छन् । धेरै वीर्य छोड्दा अन्य भालेले सम्भोग गरेको भए आफ्नो वीर्यले गर्भाधान गर्ने प्रक्रियामा जित्ला, आफ्नो बिउ छानिएला भन्ने सोच भालेहरुको हुन्छ ।

पोथी यौनाङ्गको वरिपरि तैरिने वीर्यमा फरकफरक खाले प्रोटिन हुन्छन् । त्यो वीर्यमा हुने प्रोटिन पोथीका लागि मानिसको हातका चक्र जस्तै हुन् । अर्थात् यस्तो प्रोटिन हरेक भालेका फरकफरक हुन्छन् । पोथी यौनाङ्गले तिनलाई स्पष्टसँग पढ्न सक्छन् । पोथीहरुले ती वीर्यबीचको भिन्नता ठ्याक्कै पत्ता लगाउँछन् । अर्थात् आफ्नो यौनाङ्गमा परेपछि कुन भालेको वीर्य कुन हो, कस्तो छ भन्ने अलग्गै छुट्याउन सक्छन् ।

भालेको लखेटाइबाट थाकेर भाग्न नसक्दा पोथी बाध्यताले भालेका अगाडि लम्पसार परिदिन्छे । त्यस्तो अवस्थामा भालेले जबर्जस्ती सम्भोग गरे पनि उसको वीर्यलाई अस्विकार गर्ने यही अक्कल पोथीले प्रयोग गर्छे । त्यसैले पोथीलाई जबर्जस्ती गरेर सम्भोगको आनन्द लिए पनि आफ्नो वंश फैलाउने तिनको चाहना भने सधैं पूरा नहुन सक्छ ।

वैज्ञानिकहरु भन्छन्— यस्तो बाध्यकारी यौन सम्पर्कबाट गर्भ रोक्न भालेका शुक्रकीट रोकिदिने उपाय अन्य जनावर र जीवमा पनि हुनुपर्छ । तिनले पनि सायद कुखुराले जस्तै वीर्य पाखा लगाइदिन्छन् । अथवा ती जीवसँग ज्यादै जटिल (कम्प्लिकेटेड) प्रजननद्वार हुनुपर्छ, जसलाई तिनले पहिचान गरी भित्र जानै दिँदैनन् ।

जीवजन्तुहरुले बलात्कार गरेका कतिपय घटना हामीले देख्दा पनि थाहा नहुन सक्छ । मुढा, झाडी, करेसामा दगुरेको छेपारो देख्दा सामान्य लाग्छ । तर यिनको यौन जीवन असाध्यै रोचक छ । छेपाराहरुका भालेले पोथीलाई असाध्यै दुःख दिन्छन् । उसको इच्छाविपरीत यौनक्रिया जबर्जस्ती गर्छन् । लखेटेर हैरान पार्छन् । सताउँछन् । जुन मुढामा गयो, त्यही मुढामा गएर जिस्क्याउन थालिहाल्छन् । मन नहुँदा पनि पछाडि गएर कुकर्म सुरू गर्छन् ।

भालेहरु मात्तिएका बेला पोथीलाई ज्यान जोगाउन, सन्तोषले बस्न, निर्धक्कले खान पनि मुस्किल पर्छ । कति भालेले त अक्करमा पारेर बलात्कार नै गर्न खोज्छन् । एउटा भालेसित मुस्किलले छलियो, जोगियो, अर्को निष्ठुरी आइपुग्छ । लेक आयर ड्रगन भन्ने छेपाराहरुमा अन्यमा भन्दा अझ धेरै बलात्कार हुन्छ । यदि बलात्कृत हुनबाट बच्ने अक्कल र उपाय नभए अनिच्छुक भालेबाट बचेर गर्भ रोक्ने थरीथरीका अक्कल हुन सक्छन् । कतिपय पोथीहरुले ऋतुकालका बेला भालेहरुले हत्तपत्त नचिनून् भनेर आफ्नो शरीरको रङ नै बदल्छन् । आफूलाई इच्छा लाग्दा सम्भावित भालेको आफैंले खोजी गर्न चाहन्छन् ।

भालेबाटै हैरानी भोग्नुपर्दा कतिपय पोथीहरुले आफ्नो ढाडलाई जमिन र पेटलाई आकाशतिर फर्काएर भुइँमा सुतिदिन्छन् । यसो गर्दा भालेहरु झुक्किन्छन् । किनभने भालेहरुले पोथीको पछिल्लो भाग राम्रोसित देखेका हुँदैनन् । भुइँमा उल्टोपट्टि फर्केर पसारिएकी पोथीलाई बलात्कार गर्न मुस्किल पनि पर्छ ।
वलत्कारी त्यो चरा

(सापकोटाको हालै प्रकाशित ‘वनको वैभव’बाट साभार)