१५ चैत्र २०८०, बिहीबार
Follow Us

आज विजया दशमी, घरघरमा टीका, १०:१९ मा उत्तम साइत

नेपालब्रिटेन संवाददाता
१० कार्तिक २०७७, सोमबार ०२:५९

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व सोमबार हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका र जमरा थापेर मनाइदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको जनाएको छ । टीका लगाउँने उत्तम साइत भने १०.१९ बजे भएको बतान्छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपरेको हो ।

यस वर्षको विजयादशमीको टीकाको साइत १० बजेर ११ मिनेट छ । विजयादशमीको दिन सूर्योदय ०६:३३ र सूर्यास्त १७:४९ मा हुनेछ । त्यसैगरी चन्द्रोदय १५:१० र चन्द्रास्त २६:४६ । दशमी तिथि ११ बजेर २१ मिनेट जाँदासम्म छ । नक्षत्र ७ बजेसम्म धनिष्ठा परेको छ, त्यसपछि श्रवण । वृद्धि योग २८.६ घडीसम्म छ । ११:२१ बजेसम्म गर करण र वणिज करण २३:४२ बजेरसम्म छ । सूर्य तुला राशिमा हुनेछन् भने चन्द्रमा कुम्भ राशिमा हुने छन् ।

कात्तिक ७ गते शुक्रबार फूलपाती थियो । तर फूलपाती भित्र्याउन साइत आवश्यक पर्दैन । कात्तिक ८ गते शनिबार महाअष्टमी पर्व मनाइएको छ । यसदिन बलि दिनेहरुले बलिसहित देवीको पूजा आराधना गरेका छन् । बेलुकी कालरात्रि मनाइयो भने हिजो कात्तिक ९ गते आइतबार महानवमी पर्व पनि शक्तिपीठमा पूजा आराधना गरी मनाइएको छ । तर यस वर्ष पहिले पहिलेजस्तो चहल पहल भएन, प्रायः सबै उपत्यकाका मन्दिरका ढोकामा ताल्चा लागेका थिए ।

पुरुषलाई टीका लगाइदिँदा भन्ने आशीर्वाद
ॐ, आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

ॐ, द्रोण पुत्र अस्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात शत्रुत्व हरणको क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वाय्को जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस् ।। सूर्य पुत्रझै दानी होस्, भीमको जस्तो बल होस्, युधिष्ठिर जस्तो सत्यवान होस्, विदुरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।

महिलालाई टीका लगाइदिँदा भन्ने आशीर्वाद
ॐ, जयन्ती मंगलाकाली,
भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते ।

अर्थात् ती देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सामथ्र्य राख्दछिन्, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन्, समयको पाबन्दीभन्दा पर रहेकी ती देवी जो मानव खप्परको माला लगाउँदछिन् अनि हरेक प्रकारका दुःखको निदान गर्न सक्दछिन् । यो जगतको रक्षा गर्ने हे देवी ! यो तिम्रो भक्तले चढाएको शक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं ।
नेवार समुदायले आजकै दिन खड्ग जात्रा मनाउँने परम्परा छ ।