१३ बैशाख २०८१, बिहीबार
Follow Us

तिवारीको हत्या छानबिन गर्न समिति गठन

नेपालब्रिटेन डट कम्
५ पुष २०७३, मंगलवार १२:५२

काठमाडौं । सरकारले नेकपा (एमाले) को भ्रातृ सङ्गठन युवा सङ्घ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्याको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

गृह मन्त्रालयले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माको संयोजकत्वमा आज चार सदस्यीय समिति गठन गरेको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी गराउनुभयो । उहाँले समितिले घटनाको छानबिन गरी सत्यतथ्य सहितको प्रतिवेदन १५ दिनभित्र मन्त्रालयलाई बुझाउने बताउनुभयो ।

उहाँले बुधबारदेखि नै समितिले काम गर्ने जानकारी गराउनुभयो । प्रवक्ता पन्थीका अनुसार समितिका अन्य सदस्यमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक यादवप्रसाद रेग्मी, वरिष्ठ प्रहरी उपरीक्षक मनोज न्यौपाने र गृह मन्त्रालयका उपसचिव शिवराज जोशी रहनुभएको छ ।

उहाँले गोली प्रहार गर्नेको खोजी भइरहेको भन्दै पक्राउ गर्नका लागि विभिन्न नाका र सीमावर्ती क्षेत्रमा विशेष अभियान सञ्चालन गरिएको जानकारी गराउनुभयो ।

युवा सङ्घले आज गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर समिति गठन नगरे नेपाल बन्द जस्ता आन्दोलन गर्ने चेतावनी दिएको थियो । सोमबार तिवारीलाई मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले गोली हानेका थिए र तिवारीको उपचारका क्रममा देवदह मेडिकल कलेजमा ज्यान गएको थियो ।