१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अस्वस्थ मानसिकता भएकाहरुले भेटवार्ताको विरोध गरेको उपप्रधानमन्त्री पोखरेलको दाबी

नेपालब्रिटेन संवाददाता
१० कार्तिक २०७७, सोमबार ०९:५७

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपप्रधानमन्त्री ईश्वर पोखरेलले हालै प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलबीच भएको भेटवार्ता कूटनीतिक मर्यादा र प्रक्रिया अनुसार भएको दाबी गरेका छन् ।

सोमवार बिहान सामाजिक सञ्जाल फेसबूकमा स्टेटस राख्दै मन्त्री पोखरेलले रअ प्रमुखको भ्रमणबारे नेपालस्थित भारतीय दूतावास र परराष्ट्र मन्त्रालयबीच पत्राचार भएको दाबी गरेका छन् ।

पोखरेलले प्रधानमन्त्री ओली र रअ प्रमुख गोयलबीच भएको बातचिजको टिपोट परराष्ट्र मन्त्रालयमा सुरक्षित रहेको समेत जानकारी दिए । गोयल प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत बनेर नेपाल भ्रमणमा आएका पोखरेलको दाबी छ ।

उनले वास्तविकता नबुझी पूर्वाग्रह राखेर वा विरोधका लागि विरोध गर्नुपर्छ भन्ने अस्वस्थ मानसिकता बोकेर यी सबै काम भइरहेको ठोकेर भन्न सकिने भनेका छन् ।

पोखरेलले प्रोटोकललाई ख्याल नगरिएको, मर्यादाको पालना नगरिएको, छिमेकी मुलुकको जासूसी संस्थाको योजनामा सञ्चालित हुन खोजेको, वार्ताका विषयहरूलाई रहस्यमा राखिएको, राष्ट्रियता र स्वाधीनतामा आँच पुर्‍याइएको आदि भनेर आरोप लगाउने कोसिस भइरहेको बताएका छन् ।

यी सबै कुरा गरेर कम्युनिस्ट पार्टीको सरकार विरूद्धमा गलत खालको बहस सिर्जना गर्न खोजिएको भन्दै पोखरेलले त्यस्तो आरोप लगाउनेहरु कम्युनिस्ट पार्टीकै कतिपय नेताहरू यस अभियानमा संलग्न हुन खोजेको बताएका छन् । केही दिनअघि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कसमिति सदस्य भीम रावलले रअ प्रमुखको भ्रमणबारे प्रश्न गरेका थिए ।