६ बैशाख २०८१, बिहीबार
Follow Us

खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
११ कार्तिक २०७७, मंगलवार १२:०४

खोटाङ । खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप बराहापोखरी गाउँपालिका– पाँच सोह्रखानीमा सोमबार राती दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा बराहापोखरी गाउँपालिका–छ का ४५ वर्षीय दधुमान राई, सोही स्थानका ४० वर्षीय विश्व राई रहेका छन् । त्यस्तै उदयपुर चौदण्डीगढी नगरपालिका– ८ की २० वर्षीया बृहस्पति राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बृहस्पतिकै श्रीमान २८ वर्षीय छत्रबहादुर राई, उनकै नौ महिने बच्चा दिप्सन राई, चौदण्डीगढी नगरपालिका–आठ का ३० वर्षीय दीपक परियार र बराहापोखरी–छ का ३२ वर्षीया नविना राई घाइते भएका हुन् । घाइतेको धरानमा उपचार भैरहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।