१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दोलखाकी युवतीको शव कतारमा अलपत्र

नेपालब्रिटेन डट कम्
६ पुष २०७३, बुधबार ०४:३१

दोलखा । कतारमा रहस्यमयरुपमा मृत्यु भएकी दोलखा लापिलाङ गाविसकी एक युवतीको शव करिब दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन । वैदेशिक रोजगारीको सिलसिलामा डेढ वर्षअघि कतार पुगेकी दोलखा लापिलाङ गाविस–३ निवासी मसली थामीको २८ वर्षीया छोरी विन्दु थामीको गत मङ्सिर २४ गते रहस्यमयरुपमा मृत्यु भएको थियो ।

कतारको दोहास्थित आफू बस्ने घरको तेस्रो तल्लामा उनलाई मृत अवस्थामा भेटिएको हो । तर दुई साता बित्न लाग्दा समेत घटनाको छानबिन र शव स्वदेश ल्याउनेबारे सम्बन्धित निकायले कुनै पहल नगरेको मृतकका भाइ गोविन्द थामीले बताए ।

“घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाई कारबाहीको दायरामा ल्याउन, शव स्वदेश फर्काउन र उचित क्षतिपूर्तिको व्यवस्थाका लागि मेनपावर, वैदेशिक रोजगार विभागलगायतका निकायमा गए पनि कुनै सुनुवाइ भएको छैन,” उनले भने । कोठामा सँगैबस्ने दोलखा सुष्पाक्षमावती माइती घर भई सिन्धुपाल्चोक विवाह गरेकी सुशीला बुढाथोकीको प्रत्यक्ष संलग्नतामा उनको हत्या भएको आफन्तजनको आरोप छ ।

आफन्तजनका अनुसार सुशीलासँग गम्भीर विवाद भएको भोलिपल्ट विन्दुलाई मृत भेटिएको हो । मृतकको शव दोहास्थित एक अस्पतालमा रहेको र त्यहाँको प्रहरीले घटनाबारे केही छानबिन गरिरहेको बताइएको छ । मृतकका आफन्तजनले भने एकपक्षीय रुपमा घटनाको छानबिन गराएर घटनालाई आत्महत्या बनाई दोषीलाई उन्मुक्ति दिने र पीडित परिवारलाई क्षतिपूर्ति नदिलाउने चलखेल भइरहेको बताएका छन् ।

मृतकका दाइ सपुन थामीले मृतकको शरीरमा चोटपटक र निलडाम रहेको र सुशीलासँग विवाद हुनुनै हत्याको प्रमाण भएको बताए । तर प्रमाण नष्ट गरेर हत्यारालाई उन्मुक्ति दिने र आफूहरुलाई थप पीडा दिने काम भइरहेको उनको गुनासो छ ।

घटना भएको जानकारी पाएदेखिनै मृतकका आफन्तजन नुन बारेर बसेका छन् । मृतक थामीलाई काठमाडौँ धापासीस्थित एसओएस मेनपावरले क्लिनरको रुपमा डेढ वर्षअघि कतार पठाएको हो ।

उक्त कम्पनीले कतारबाट प्रहरी रिपोर्ट प्राप्त भएपछि मात्रै अन्य प्रक्रिया अघि बढ्नसक्ने जनाएको छ । असुरक्षित मानिएको खाडीमुलुकमा यसअघि महिला कामदार पठाउन सरकारले प्रतिबन्ध लगाए पनि फुकुवा गरिसकेको छ ।