१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

नेपालब्रिटेन संवाददाता
१३ कार्तिक २०७७, बिहीबार १२:४९

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले दर्ता गरेको छ । घटनामा असग्लनको नाम पनि जाहेरीमा उल्लेख भएको भन्दै उजुरी लिन आनकानी गरेको जिल्ला प्रहरी कार्यालयले आज सरकारी वकिलको कार्यालय मार्फत आएको जाहेरी दर्ता गरेको हो । जाहेरी दर्तासँगै अनुसन्धान र कारवाही प्रक्रिया अघि बढेको पर्सा प्रहरी प्रमुख गंगा पन्तले बताइन ।

मृतक चौरसियाका भाइ महेशले १२ जनालाई विपक्षी बनाएर किटानी जाहेरी दिएका हुन । जाहेरीमा पूर्व सांसद राजकुमार गुप्ता, धिरज चौरसिया, लछुमन चौरसिया, चिन्टु तिवारी लगायतलाई विपक्षी बनाइएको छ ।

सत्तारुढ नेकपाका कार्यकर्ताबीच भएको झडपका क्रममा सात दिनअघि चौरसिया घाइते भएका थिए । उनको उपचारको क्रममा भोलीपल्ट मृत्यु भएको थियो । प्रहरीले मुद्दा दर्ता गर्न नमानेको भन्दै पर्सामा नेकपा कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आएका थिए । मुद्दा दर्ता गर्न माग गर्दै उनीहरुले प्रशासन मार्फत प्रधानमन्त्री केपी ओलीलाई समेत ज्ञापनपत्र बुझाएका थिए । प्रहरीले भने घटनामा संलग्नै नरहेका व्यक्तिको समेत नाम किटान गरी जाहेरी दिएकाले दर्ता हुन नसकेको बताउदै आएका थिए । बिहीबार नेकपाको बिन्दावासिनी गाउँपालिका अध्यक्षको शपथ ग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले विथोल्न खोज्दा भएको झडप भएको थियो ।