November 24, 2020
12:38 AM | 6:23 AM

एनआरएनए पुर्नरसंरचनामा अध्यक्ष कुमार पन्तका १३ सुत्र

  29/10/2020 मा प्रकाशित


डिल्ली अम्माई
। गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियानको शुरुवात देखि नै गैरआवासीय नेपालीहरुबीच आफ्नो अभियानमा दाग नलागोस भन्ने चिन्ता लाग्नु स्वाभाविक हो।

अब एनआरएनए अभियान सकिन्छ,यो संगठनमा नैतिक, आर्थिक र अन्य खालका बिचलन अलिक बढी नै देखिए, बिस्वास्नियता गुम्दै गयो, अब भरोसायोग्य रहेन, आदि आरोपहरुले यो अभियानलाई स्थापनाकालको केहि समय पछी खेद्न थालेको हो र त्यो क्रम निरन्तर चलि रहेको छ । अघिल्लो कार्यकालमा त राजनीतिक हस्तक्षेप तिब्र बन्यो,अब तान्त्रिक र पन्थीहरुको दुई ध्रुबिय वार शुरु भयोु भन्नेसम्मका कुरा पनि जोड तोडले उठे । ति चिन्ताहरु एनआरएनहरुको रुपान्तरण गर्नुपर्ने आशय सहित आएको महसुस हुँदै छ।

एनआरएनबीच उठिरहेका कतिपय जायज आशंका वा चिन्ताहरूलाई सम्बोधन नगरी अब यो अभियान अघि बढ्न सक्दैन भन्ने करिब करिब हाम्रो निष्कर्ष हो । नेपाली प्रवाशीहरुबीच उठिरहेका चिन्ताहरू संगठनको पद्दतिको बारेमा पनि छन्, प्रणालीको रुपान्तरणसँग सम्बन्धित पनि छन,अभियन्ताहरुका नियत र अनुशासनको सम्बन्धमा पनि छन्। त्यसैले अब यी समस्याहरुलाई टालो हालेर छेक्न वा रोक्न सकिने अबस्था छैन भनेर बुझ्नुस ।

अक्टोबर २८,२०२० को मध्यान्नतिर एनआरएनएबारे सोहि अभियानका अध्यक्ष कुमार पन्तसंग आगामी कार्यनीति र रणनीतिबारे गरिएको एक समीक्षात्मक टेलिफोन कुराकानीमा उनले माथिका कुराहरु राखेका हुन्।
अध्यक्ष पन्तले संस्थापक अध्यक्षको भर्चुअल मिटिङमा उठाएको कुरालाई गम्भीर ढंगले बुझ्न अनुरोध गर्दै थपेका छन्, संस्थापक अध्यक्षले अहिले भर्खरै सकिएका विभिन्न क्षेत्रीय बैठकहरुमा भन्नु भएको छ, घरको ढलान गर्ने बेला हुन लाग्यो , अब टहरोबाट हामी घरमा सर्नु पर्छ। अहिलेसम्म एनआरएनए अभियान मात्र थियो। यो संगठन बनेको थिएन र अब बलियो संगठन बन्दै छ ।

यद्यपि पन्तले त्यसैमा थपेका छन्– ,मैले बुझे अनुशार संस्थापक अध्यक्षको बलियो घर ढलान गर्ने सुझाव केवल सुझाव मात्र नभएर हामीलाई दिएको निर्देशन पनि हो। त्यसैले केही मित्रहरुले चिन्ता गरे जस्तो एनआरएनए अन्तर ध्वंसको नजिक हैन,टोटल रिभोलुशनको नजिक छ भनेर बुझ्दा हुन्छ ।

अझ प्रष्टसँग भन्दा अभियानभित्र पुरानोको बिघटनसँगै संघमा रुपान्तरण प्रक्रियाबारे बहस र नीतिनिर्माणको शुरुवात हुन लागेको अबस्था हो । संस्थापक अध्यक्षको भनाइको अन्तर्यलाई हेर्दा अभियानको बिसर्जन र रुपान्तरित संगठनको निर्माण भनेर बुझ्न सकिन्छ।

छलफलको क्रममा संस्थापक अध्यक्षले मात्र हैन,सबै सम्मानित पुर्व अध्यक्षहरु र विश्व भरिका एनआरएनहरुले रुपान्तरणमा जाने संकेत दिनु भएको कुरा अध्यक्ष पन्तले स्वीकारेका छन् ।

उनका अनुशार ,अब पुरानो अभियान क्रमश बिघटन भए सँगसँगै नयाँ एनआरएनए बन्दै जान्छ। त्यो प्रक्रिया एक छेउबाट शुरु भएर क्रमश समग्रतामा फैलिन्छ । पन्तको बिचारमा अब संघको रुपान्तरण बाहेक कुनै बिकल्प छैन। अबको समाधान भनेको अभियानको समग्र रुपान्तरण र आधुनिक संगठनको निर्माण हो।

संगठन अब सामुहिक नेतृत्व प्रणालीमा जान्छ। मतलब विभागीय पद्दतिमा जान्छ जान्छ र त्यहि प्रक्रियाले नै आगामी नेतृत्वहरु पनि जन्माउँछ। नयाँ विभागीय प्रणालीमा रेडिमेट नेतृत्व स्वीकार्य हुँदैन।

बारबार उठाउने गरेको बिगतका समग्र पक्षको समिक्षा के र कसरि सम्भब छ भन्नेबारे पंतिकारको जिज्ञासामा अध्यक्ष पन्तले जोड दिंदै भने, हेर्नुस, त्यसको लागि हाम्रो पहिलो गृहकार्य भनेको बिगतको बहुपक्षीय समिक्षा हो। त्यो समीक्षाले हामीलाई रस निकाल्न र छान्न सिकाउछ, समीक्षात्मक मुल्यांकनले भविष्यकोलागि मार्ग दर्शनको काम गर्छ र समिक्षाबाट आबस्यक राम्रा अभ्यासहरु निचोरेर राखिन्छ,अरु मिल्क्याइञ्छ। अर्को शब्दमा भन्दा बिगतका सकारात्मक अनुभबहरुको संस्लेषण र खराब अभ्यासहरुसंग पारपाचुकेु भनेर बुझ्नुस ।

नराम्रा कुरा हुँदाहुँदै पनि आफ्ना पक्षकाले ल्याएकोले बिरोध गर्नु हुन्नु भन्ने पक्षपाति भाव मेटाउनु जरुरि छ । त्यो भावले नै हामीलाई अहिलेसम्म धोका दिएको हो। ब्ल्याकमेलिङ्ग गरेर पैसा कमाउनको लागि केहि मित्रहरुले निरन्तर उमेद्वारी दिने र पैसा पाएपछि छोड्ने, भोट किनबेच हुने बिकृतिहरु हाम्रै अभियान भित्रका प्रणालीगत त्रुटीले जन्मायो। ति सबलाई त गल्ति हुन् भन्नु पर्यो नि हैन र? अब त्यो प्रवृतिप्रति समेत निर्मम बन्ने बेला आएको छ।

संसार भरका नेपाली मिडियाकर्मीलाई रुपान्तरणमा पूर्ण सहयोगको अपेक्षा सहित होमिन अनुरोध गरेको जानकारी दिंदै उनले आफ्नो कुरा यसरि राखे, सम्पुर्ण एनआरएनहरु रुपान्तरण अभियानमा होमिनुको बिकल्प छैन। मैले क्षेत्रीय सभाहरुबाट समेत खुलेआम भनिदिएको छु,साथीहरु प्रवासका प्रत्येक नेपाली घर घरबाट यो अभियानको रुपान्तरणमा मद्दत दिनुहोस र नयाँ अभ्यासलाई समर्थन गर्नुहोस।

एक प्रसंगमा कुमारले भन्दै गए, रुपान्तरण अभियानले कति समय लेला भनेर मलाई केहि साथीहरुले जिज्ञासा राख्नु भएको छ। साथीहरु, यो त निरन्तरको प्रक्रिया हो। संसारमा हरेक पटक आर्थिक वा राजनैतिक प्रणालीलाई बिकसित नयाँ आबिस्कारले रुपान्तरित गरेको छ। एक अनुमान अनुसार, युरोपियन युनियनभित्र रहेका देशहरूमा मात्र प्रतिवर्ष १० अर्ब युरो बराबरको अर्थतन्त्र एप्सले सृजना गरेको छ र ५ लाख २९ हजारले रोजगारी पाएका छन् ।

जुन २०२० को तथ्यांकअनुसार, रोब्लोक्स नामको खेल एप्सले मात्र प्रतिदिन २७ लाख ४० हजार अमेरिकी डलर कमाउने गरेको छ ।फाईभजी सूचना सञ्जालले नयाँ औद्योगिक क्रान्तिको आधारशिला तयार पारेको छ । बस्तुको ब्यापारलाई एप्सले टपे। अब के भन्ने हिजोसम्मको रुपान्तरण आज पुरानो हुँदैछ। नयाँले पुरानोलाई प्रतिस्थापन गर्छ र यो सृंखला अनन्तसम्म चलिरहन्छ। सभ्यताको नियम हो, प्रकृतिको नियम पनि त्यहि हो।

त्यसैले अब आधुनिक प्रणाली र प्रबृद्धिलाई आबस्यकता अनुशार रुपान्तरण गर्दै जाने कुरालाई कसैले अस्विकार गर्न मिल्दैन। भन्नुस न मित्र, भविष्यको आधुनिक आइटी प्रबृद्धि युक्त एनआरएनएको सम्भावनालाई नकार्न मिल्ला र ? त्यति बेलाको स्मार्ट एनआरएनएले स्मार्ट नेपाली समुदाय, स्मार्ट यातायात र स्मार्ट सहरहरू बनाउन नेपाललाई सहयोग प्रदान गर्नेबारे कुनै संका होला त ? एक अनुमानित आंकलन अनुशार सन् २०३० सम्म नेपाली डायस्पोराको आगामी पिढीले झन्डै १५ हजार भन्दा बढी बायोमेट्रिक सेन्सरको समेत ज्ञान भएका डाटा बैज्ञानिक र सफ्ट वेयर मार्केटिंग ज्ञाताहरु उत्पादन गरिसक्ने छ। त्यो भन्दा बढी डाक्टर, कृषि बैज्ञानिक र इन्जिनियरहरु।

त्यो सबै जनसक्तिलाई निश्चित योजना मार्फत पुजिकृत गर्न सक्ने योजना नै स्मार्ट एनआरएनएको हुनु पर्ने छ। भर्खरै चल्दै गरेको रुपान्तरणको बहसमा त्यसबारे कल्पना गर्दा कति आनन्द आउँछ है ।

उनले जोड दिदै थपे, मैले उन्नत प्रबृद्धिको मुलुकमा हस्तान्तरण गर्न ज्ञान सम्मेलनबारे पहल त्यो सम्भावना देखेरै शुरु गरेको हुँ। सबै नेपाली बिज्ञहरुलाई भर्चुवल संजालमा ल्याएर एउटा नियमित सम्पर्कको आधार बनिसकेको छ। अब त्यसलाई विज्ञताको बिषयगत आधारमा युनिफाइड गरिन्छ र त्यो जनसक्तिले परेको जुनसुकै बेला मुलुककोलागि बिषयगत प्रबृद्धि हस्तान्तरण गर्ने अबस्था रहन्छ ।

अध्यक्ष बोलिरहे मलाई रुपान्तरण टुङ्गिने बिषय नभएर थपिइ रहने आयाम हो जस्तो लाग्छ। अब यसको योजनाबद्ध शुरुवात गर्न भने ढिलाई गर्नु हुँदैन। त्यसको लागि नेतृत्व इमान्दार भएर मात्र हुँदैन, संसार भरका एनआरएनले रुपान्तरणको संकल्पलाई आत्मसात गर्नु उत्तिकै महत्वपुर्ण हुन्छ।

मित्रहरुले हजार आलोचना गर्नुहोस, केहि छैन, तर यो अभियानमा एउटा मात्र भएपनि रुपान्तरणको उपाए सुझाइदिनु होला। संगठनको हितमा एउटा गतिलो सुझाव राख्दिनु भयो भने,त्यसले रुपान्तरणको यो संग्राममा ठुलो मद्धत गर्ने छ। त्यसैले सुझाव सहितको आलोचना धेरै मुल्यवान हुन्छ भनिएको होला।

समय मिलेसम्म साथीहरुका धेरै आलोचनाहरु धैर्यपूर्वक पढ्ने र सुन्ने गरेको पनि छु,तर ति आलोचनाभित्र संगठनको हितको लागि एउटा सुझाव पनि नदेख्दा कता कता मन खिन्न हुन्छ। त्यसैले मेरा मित्रहरु,मेरो अनुरोध कृपया स्विकार्नु होला।

रुपान्तरणको एक अंश मानिएको विभागीय प्रणालीको उपयुक्तताबारे पंतिकारको जिज्ञासालाई उनले यसरि प्रष्ट पार्ने कोशिस गरे,पहिलो कुरा,अभियानको रुपान्तरणमा पद्धतिको रुपान्तरण भन्दा पनि सम्पूर्ण प्रणालीको रुपान्तरणमा हामी जाँदै छौँ। अनि केन्द्रिकृत अध्यक्षात्मक प्रणालीबाट विकेन्द्रित विभागीय प्रणालीमा जानु पर्ने भनेर बहसले प्रवेश पाएको छ ।

मेरो बुझाइमा केन्द्रिकृत प्रणालीमा अभियानको कुनै एक योजना असफल हुँदा सिंगो एनआरएनए केन्द्र असफल हुने खतरा हुँदो रहेछ। तर विभागीय प्रणालीमा जाँदा कुनै पनि योजना असफल हुँदा सम्बन्धित बिभाग मात्र असफल हुन्छ। केन्द्रलाई कुनै आरोपले प्रतक्षरुपमा टोक्दैन। कारण के भने त्यसमा अनुसासन,लेखा र मुल्यांकन विभागले उचित छानबिन गरि कारवाही थाल्न स्वयम् सक्रिय हुन्छन।

केन्द्रले आबस्यकता अनुशार मात्र सुझाव वा सर्कुलर प्रवाह गर्ने अबस्था रहन्छ । अत केन्द्रिकृत पद्दतिले सानोतिनो अभियान बाँच्न सक्छ तर बृहद भैसकेको आधुनिक संगठन विभागीय पद्धति बेगर बाँच्दैन भन्ने मेरो लगायत केन्द्रिय टिमको निष्कर्ष पनि हो ।

अर्को कुरा, विभागीय सिष्टममा केन्द्र कहिल्यै असफल हुँदैन। सम्बन्धित योजनाको पूर्ण जिम्मेवारी सम्बन्धित बिभागलाई दिइएको हुन्छ। विभागीय प्रमुखहरु एनआरएनए केन्द्र तथा एनआरएन समुदाय प्रति पूर्ण जिम्मेवार हुँदाहुँदै पनि आफ्नो विभागमा पूर्ण अधिकार सम्पन्न हुन्छन। विभागमा बिशेष गरि विभागीय नियमहरु हाबी हुन्छन। यो सिष्टमले भविष्यमा क्रमश असल नेतृत्व पनि जन्माइ रहन्छ। सफल विभागीय प्रमुख नेतृत्वमा आउछन,असफल फ्याकिन्छन। त्यसैले कामले नेतृत्व जन्माउने सिष्टमको लागि विभागीय प्रणाली राम्रो मानिन्छ।

सबैखालका बिबादका कुरा सिधै केन्द्रिय कमिटिमा आउने अहिलेसम्मको प्रचलन कति ठिक हो, भन्ने बहसले नै विभागीय प्रणालीको माग गरेको हो । यदि बिभाग प्रणालीमा गयौं भने राष्ट्रिय समन्वय परिषदका धेरैजसो बिबादहरु बिबाद समाधान तथा अनुसासन विभागले हेर्ने हुन्छ । स्वतन्त्र रुपले सम्बन्धित विभागले अनुसन्धान गर्दछ र कारवाहीको लागि संगठन विभागमा प्रतिबेदन सहित जानकारी पठाउँछ ।

निर्णय छिन्न असजिला अति संबेदनशिल कुराहरु मात्रै केन्द्रमा आउँछन । त्यसैले अब केन्द्रिकृत सिष्टममा धेरै असजिलाहरू छन् भनेर बुझौँ । जसलाई विभागीय प्रणालीले सहजै व्याबहारिक रुपले सरलीकरण गर्न सक्छ। गफकै क्रममा उनले प्रष्ट्याउँन खोजे, रुपान्तरणबाट ति मात्रै तर्सेका छन्,जसले उमेद्वारको ढडिया थापेर आफ्नो उमेदवारीको आँफै मोल तोक्ने गर्थे। यो अभियानले ति रकमखोर बाहेक सबै एनआरएन हर्षित देखेको छु।

पुन गरिएको सम्बादको क्रममा समिक्षा र रुपान्तरणको अन्तर सम्बन्धबारेको पंतिकारको जिज्ञासामा उनले जवाफ दिए, फेरी पनि म के स्पष्ट पार्न चहान्छु भने, हिजोको इतिहाँसबारे, संघको नेतृत्वबारे र अझ आँफैबारे समेत निर्ममतापूर्वक समिक्षा गर्दै नेतृत्व प्रणालीमा रुपान्तरणको बहस, सहभागिताको सापेक्षतामा रुपान्तरणको बहस तथा संघको तलमाथि भित्र बाहिर सबैतिर भै रहेको बेथिति बिरुद्धको बहसलाई घनिभूत बनाउन सबैसंग आह्वान गरिरहेका छौँ।

रुपान्तरणको बहसलाई पत्रकारहरुले समेत चलाई रहेकोबारे उनले जोड दिंदै थपे , मेरो र महासचिवको राजिनामा मागिएको चर्चाबारे पनि कुरा चलेको रहेछ ।
कार्यकालमा पदिय हैसियत अनुशारको जिम्मेवारी लिने कुरा आफ्नो ठाउँमा होला,तर पूर्ण जिम्मेवारी तात्कालिक अध्यक्षले लिने क्षमता राख्नु पर्ने होला कि ? कुनै कुनै निर्णयले संस्था, आर्थिक, नैतिक र सामाजिक रुपमा धरासायी हुने गर्दछन वा भए होलान । मुख्यतया एनआरएनएमा त्यसको ताल्कालिक नेतृत्वले जिम्मा लिंदै सबै कार्यकालको अन्त्यमा निस्पक्ष समिक्षा हुनुपर्ने हो कि ?

केहि साथीहरु आक्रोसित हुनु पर्ने अन्य कारण हुन सक्छन, मलाई थाहा छ,साथीहरुलाई यो अभियान प्रति अगाध आस्था र प्रेम छ,त्यसैको चिन्ताले कहिलेकाही आक्रोसको रुप लिन्छ । त्यो त स्वाभाविक नै हो जस्तै लाग्छ।

तपाइले ल्याउनु भएको निशुल्क सदस्यताको प्रस्ताव बिबादित भएको छ नि ? पंतिकारको यो प्रश्नमा उनले अलिक आबेशपुर्वक थपे साथिहरु,केहि सदस्यता शुल्क,केहि अनलाइन भोटिंग,केहि प्रणालीगत मुद्धामा मात्र अल्झी रहनु भएको छ। मैले त तपाइहरुसंग सर्वपक्षीय रुपान्तरणको योजना मागेको छु। त्यो ल्याउनुहोस र जसलाई कार्यान्वयनमा लैजाँदा संघ पारदर्शी आधुनिक महासंघमा रुपान्तरित होस् ।

रुपान्तरण अभियान कुन कुन क्षेत्रमा जरुरि होला भनेर बहसको लागि सोधिएको जिज्ञासामा अध्यक्ष कुमार पन्तले टिपाएका प्रस्ताव गर्न सक्ने सम्भावित योजनाहरु यस्ता छन् ।

१ पंजीकृत सदस्य शुल्क र मजदुर वा निम्न आय भएका ब्याक्तिले पनि नेतृत्वमा पुग्न सक्ने कुरालाई मध्यनजर गर्दै उमेद्वार शुल्कबारे रुपान्तरण योजना
२ अधिवेशनमा डेलिगेट निशुल्क बनाउने योजना
३ अनलाइन भोटिंग र भोटर सम्बन्धि नयाँ योजना
४ केन्द्र देखि राष्ट्रिय समन्वय परिषदसम्म बार्षिक बजेट बिनियोजन तथा खर्चको अडिटिङ योजना
५ पदाधिकारीको विभागीय जिम्मेवारीको योजना (डिपार्टमेन्ट सिस्टम)
६ एक एनआरएन एक रोजगारको लक्षमा पुग्न साना बहुक्षेत्रीय लगानी युनिट निर्माणको योजना
७ दक्ष जनसक्तिको लगत तथा क्षमता अनुशार संजाल निर्माणको योजना
८ नयाँ आर्थिक स्रोत खोज योजना
९ नेपाली पासपोर्ट सहितको अधिकार सम्पन्न नागरिकताको पहल सहित एनआरएनका अन्य अधिकारको पुनर्स्थापना योजना र शैक्षिक योजना
१० राष्ट्रिय समन्वय परिषदहरुको कार्य मुल्यांकन पद्धतिको बिकास योजना
११ अन्तराष्ट्रिय सम्बन्ध बिस्तार र बिकास योजना
१२ मुल्यांकन पद्दतिमा नेटवोर्क अभिमत सर्वेक्षण बिधिको लागि सक्तिशाली वेबसाइड निर्माण गर्ने योजना
१३ प्रेरणा (प्रतिस्पर्धा (मुल्यांकन (छनौट (प्रोत्साहन विधिलाई संगठनमा स्थापित गराउने कुराहरु प्रार्थमिकतामा राख्नु पर्छ

यसका साथै भुटानका नेपाली स्थाई रुपमा सार्क राष्ट्र बाहिर बसाइ सरेको अबस्थामा एनआरएन अभियानमा जोडिन खोजेका छन। उनीहरुलाई के गर्नेबारे छलफल गर्न सकिने कुरालाई पनि राख्नु पर्छ जस्तो लाग्छ।

अन्त्यमा उनले रुपान्तरणको योजनालाई शिलशिलेवार रुपमा सबैतिर बहस चलाइ दिनुहुन मिडियाकर्मीसंग समेत बिशेष अनुरोध गरेका छन्। जे होस् उनले एनआरएनए रुपान्तरणको लागि बहसलाई आमन्त्रण गरेका छन्। त्यो गैर आवासीय नेपाली संघको इतिहाँसमा एउटा साहसिक पाइला हो। तर त्यहि टिमभित्र रुपान्तरणलाई नरुचाउने मानब तस्कार र अधिवेशनमा आफ्नो स्वाभिमानको मूल्य मागेर बस्ने झोलेहरुको जत्था पनि छ। अध्यक्ष कुमार पन्तले त्यो सकुनी घेरालाई तोडे भने रुपान्तरणले व्याबहारिक मार्ग समात्ने छ अन्यथा कुनै काल खण्डको जायज प्रस्ताव मात्र बनेर सम्झनामा रहने छ। त्यसैले यो अबस्थामा नेतृत्वम सल्बलाउदै गरेको दुश्चक्रको बिरुद्ध, प्रस्तावका समर्थकहरुको कित्तामा उभिनु संस्थागत परिवर्तन चाहनेहरुको कर्तब्य हो।

कुमारजी, यो एजेन्डा जग हँसाईको लागि नभएर एनआरएनहरुको आशालाई फुलाउन नै प्रस्ताव गरिएको हो भनेसबैले साथ दिनु पर्छ र यसलाई नीति बनाएर ब्याबहारमा लागु नगरुन्जेल तपाइलेनै नेतृत्व सम्हाल्नु पर्छ।

नत्र रुपान्तरणको मुद्धा जोखिममा पर्छ। विगतले हामीलाई दिएको शिक्षा के हो भने नयाँ नीति जसको प्रस्तावमा आएको छ,उसले प्रयोगमा लान सकेन वा दिइएन भने त्यो थला परेर सकिन्छ।
(एनआरएनए अध्यक्ष कुमार पन्तसंग कुराकानीमा आधारित )

प्रतिक्रिया