११ बैशाख २०८१, मंगलवार
Follow Us

दोस्रो चरणको लकडाउनले होटेल व्यवसाय थला पर्छ : जीवा लामिछाने

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७७, बिहीबार २१:३२

लण्डन । कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि युरोपेली मुलुकहरु फ्रान्स र जर्मनीमा दोस्रो चरणको बन्दाबन्दी हुने भएको छ । दोस्रो चरणको लकडाउनले युरोपमा पर्यटन व्यवसायमा ठूलो घाटा हुने बताएको छ ।

युरोपमा करिब तीन दर्जन भन्दा बढी होटेल संचालन गरेका गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले कोरोना भाइरसको दोस्रो छालले पर्यटन उद्योग, बिशेषगरि होटेल व्यवसायलाई लामो समय थला पर्ने लक्षण देखिएको बताएका छन् ।

लामिछानेले विहीवार आफ्नो फेसबुक टाइमलाइन मार्फत युरोपमा कोरोना महामारीको दोश्रो वेब अझ बढी घातक र लामो समय रहन सक्ने अनुमान गरिएको जनाएका छन् ।

कोरोना भाइरसको बढ्दो संक्रमण र मृत्युका कारण जर्मनीमा सोमवारदेखि आंशिक लकडाउन सुरु हुँदैछ ।

बिद्यालयहरु खुला रहेपनि रेस्टुरेन्ट, बार, जीम, थिएटर, आदि बन्द हुनेछन । सामाजिक भेटघाट दुई परिवार बिचमात्रै सिमित हुनेछ ।

अन्तरदेशिय सिमाना खुला रहेपनि पर्यटकहरुले होटेलमा रात बस्न पाउने छैनन ।

जर्मनीमा आगामी २ नोभेम्वरदेखि दुई साताको लागि लागु हुने बन्दाबन्दीमा मानिसको आवतजावत र पसल व्यापार निषेध नगरिने घोषणा गरिएको छ । त्यहाँ कम्तिमा १० जना भन्दाको सामुहिक भेला निषेध गरिएको छ ।

यस्तै फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले कोरोना संक्रमित संख्यामा दैनिक वृद्धि भएपछि दोस्रो चरणको लकडाउनको घोषणा गरेका छन् ।

शुक्रबारदेखि लागु भई कम्तिमा पनि नोभेम्बरको अन्त्यसम्म गरिने बन्दाबन्दीमा मानिसहरुलाई अत्यावश्यक काम र स्वास्थ्य प्रयोजनको लागि बाहेक घर बाहिर निस्किन निषेध गरिएको छ ।

युरोपेली देशहरुमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएएता फ्रान्समा मृत्युदर अहिलेसम्मकै उच्च रहेको छ ।