८ बैशाख २०८१, शनिबार
Follow Us

फ्रान्समा ७ सय किलोमिटरसम्म ट्राफिक जाम

नेपालब्रिटेन संवाददाता
१४ कार्तिक २०७७, शुक्रबार १०:५८

पेरिस । फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन आज शुक्रबार बेलुकीवाट लागू हुँदैछ । कोरोना भाइरसको दोस्रो लहरसँग जुध्न प्रतिबन्धात्मक व्यवस्थाहरू सरकारले लागू गरेको हो । सर्वसाधारणहरूलाई अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन भनिएको छ ।

राष्ट्रपति एम्यानुएल माक्रोंनले मुलुक सङ्क्रमणको दोस्रो लहरबाट व्यापक रूपमा प्रभावित हुने र त्यो पहिलो भन्दा कडा हुने बताएका छन । फ्रान्समा गत अप्रिल महिनायता अहिले कोरोना भाइरस संक्रमितको दैनिक रूपमा मृत्यु हुने संख्या उच्च दरमा पुगेको छ ।

हिजो बिहीबार फ्रान्समा ४७ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि भएको छ । २ सय ५० जनाको मृत्यु भएको छ । लकडाउनको समय गाउँहरूमा बिताउन राजधानी पेरिसवासीहरूले सहर छाडन थालेका छन् । लकडाउन लागू हुनुअघि इल ड फ्रान्स क्षेत्रमा बिहीवार साँझ ७ सय किलोमिटरसम्म कारहरूको जाम देखिएको थियो ।

गत मार्चमा पहिलो पटक लकडाउन लागु गरिँदा पनि यसै गरी ठूलो संख्यामा मानिसहरू बाहिरिएका थिए । फ्रान्समा नोभेम्बरभरिका लागि दोस्रो देशव्यापी लकडाउनको घोषणा गरिएको छ । युरोपका थुप्रै मुलुकहरूमा संक्रमण तीव्र रूपमा बढिरहेको छ ।