नीरा भगत थारु
आफ्नो भाषा, आफ्नो भेष, आफ्नो पोषाक, आफ्नै परिवेश, आफ्नै मौलिक खाना तथा मौलिक व्यवहार एवं मौलिक कार्य शैलियुक्त जीवन पद्धती थारु समुदायको जीवन चर्या हो । थारुमा छोरा छोरी वीच, छोरी र बुहारी वीच, बुहारी, बुहारी वीच तथा धनि र गरीव वीच सम्बन्धमा कुनै फरक पर्दैन । घरमा कामको बाँडफाँड उमेर र शारीरिक अवस्थाको आधारमा गरिन्छ । नाता र लिङ्गको आधारमा विभेद गरिदैन । काम त पुरुषले पनि गर्छन तर महिलाहरुले काम अझ बढी गर्छन त्यसमा कसैले अह्राएर वा गुहार्नको रुपमा होइन, आफै स्वाभलम्बन बन्ने क्रममा ज्यादा परिश्रम गरेका हुन्छन् ।

आफ्नो घरको घर धन्दालाई सामान्य कामको रुपमा लिने थारु महिलाहरु घरेलु कामलाई कामको लेखा नै मान्दैनन्, अथवा गणना गर्दैन । घरको काममा मान्छे तथा वस्तु भाउँको घाँसपात, अन्न पानीको व्यवस्था मिलाई मेलाको काममा पुग्छन् । मेलाको काम भन्नाले धान, मकै, गहुँ आदि अन्नवाली रोप्ने, गोड्ने, काट्ने, माड्ने काम गर्छन भने अरु अन्नवाली पनि उत्पादनमा पुरुषको आस गरेर आफू नसक्ने र अवला बन्न चाहदैनन् । खेतवारीको काममा पुरुष भन्दा बढी नै गर्लान तर कम गर्दैनन् । दिउँसो भरी खेतवारीमा चटारो गरी काम गरेका थारु महिलाहरु हाटबजार गर्न पनि छोड्दैनन् । काम गर्न वा परिश्रम गर्न, आफ्नो काम आफै गर्दा लाज संकोच, अहम वा घमण्ड, ठुलोपनको महसुस हुदैन । दिउँसो २ बजे सम्म खेतीको काममा लागे पनि खाना खाजा खान घर आए पछि तुरुन्त आफ्नो घरमा उत्पादन भएको विक्री गर्नु पर्ने अन्नवाली, तरकारी, दालहरु, फलफूल, अण्डा, हाँस, कुखुरा वा खसी, बोका आदि विक्री गर्नु पर्ने चिज लिएर हटिया, हाट बजार पनि पुग्छन । थुचुक्क बस्छन् । अरु पेशेवर व्यापारिको भन्दा उनीहरुको वस्तु उपभोक्ताले पनि मन पराउछन् किनकी ताजा, सस्तो र राम्रो पनि हुन्छ । यसमा विचौलियाले ठग्न पाउदैन किसानबाट सिधा उपभोक्ता सम्म पुग्न सफल हुन्छ । सामान वेची सकेर सन्ध्याकालमा घर फर्कन थारु महिलाहरु निडर, स्वाभिमानी र हक्की स्वभावका हुन्छन् । कसैले ठग्न, तर्साउन, धम्काउन सितिमिति आट पनि गर्दैन । देखेको सत्य कुरा बोल्ने र न्यायिक प्रकृतिका पनि हुन्छन् ।

यसबाट उनीहरुले आफ्नो परिचय आफै निर्माण गरी रहेका हुन्छन् । उनीहरु आफै उत्पादन मुखी भएकोकारण पुरुषबाट हेपिन पर्दैन । आफ्नो आयश्रोत अनुसारको नगद रुपैया पनि आफ्नो हातमा आउने भएकोले पुरुषसँग पैसाको लागि हात पसार्नु पर्दैन बरु आवश्यकता अनुसार पुरुषलाई पैसा दिन्छन् । जसबाट आर्थिक रुपले आत्मनिर्भर बन्न पुग्छन् । गाउँ घरको न्याय अन्याय छुट्यान पनि जानेका छन् । कतै विवाद भएमा उनीहरुले कुन पार्टी, कुन जात, कुन समुदाय, के नाता केही नकेलाई जे देखे त्यही बताइदिन्छन् र हिडिहाल्छन किनकी समयको महत्व थारु महिलाले बुझेका छन् । जति सुकै पढेको र जे सुकै पदमा पुगेका महिला भएपनि जव गाउँमा आउँछन् तव उनीहरु आफ्नै पोषाक लगाउन र आफ्नै परिवारको खाना खान रुचाउछन् अनि घरमा काम गर्न पनि अल्छी मान्दैनन् ।

खाने थारु परिकारहरु आफ्नो इच्छा, धार्मिक आस्था, परम्परा अनुसार प्रचलन गरिन्छ । कुनै थारुहरु दास अथवा माछा मासु नखाने बैष्णव मार्गी पनि हुन्छन् । उनीहरुले घाँटीमा तुलसीको कण्ठी लगाएका हुन्छन् । कोही मुसा पोलेर मीठो अचार बनाउने पनि हुन्छन् । तर खास गरेर हाँस र कुखुराको मासुको परिकार चाँही थारु समुदायमा प्रिय खाना मानिन्छ । घरको काममा अभिभावकहरुलाई सहयोग पुर्याउने थारु किसानका छोरा छोरीहरु पढाइमा पनि अब्बल दर्जाकै रहेका छन् । थारु समुदायको मुल पेशा किसान भएर पनि नव युवाहरु सवै प्रकारका जागीरमा पनि संलग्न रहेका छन् । समयको महत्व र आर्थिक महत्वमा उनीहरुले आफ्नो जीवन पद्दती सँग गाँसेर राख्ने चलन वनाएका छन् । घरमा आफ्नो खेतीवारीमा रहेको २ वटा केराको बुङ्गो भएपनि बेच्न राखेर सदुपयोग गर्ने यो समुदाय समाजमा गारो सारो पर्नेलाई निःशुल्क सहयोग पनि गरि रहेका हुन्छन् । काम गर्दा मौरी जस्तै मेहनेती थारु महिला खाना पनि मिठो खान रुचाउछन् । जीरामा लसुन खोर्सानी मिसाएर पिसेको मसला जे तरकारीमा राखे पनि मगमग वास्ना आउँने परिकार बन्दछ । धनि हुन कि गरीव, केटाकेटी हुन कि बुढा बुढी आफ्नो मेहनत गर्न उनीहरुले जानी रहेका हुन्छन् । मेलापात नजाने, हाटबजार नजाने परिवारका सदस्य छन् भनेधेरै वस्दा पनि विना काम हात बाँधेर वस्न जानेको हुदेन । ढक्की, चित्रो, मान्द्रो, गुन्द्री बनाउने देखि गाई वस्तुको काम समेत गरि रहेका हुन्छन् अनि त काम, काम का पछि खाने गर्छन माम आफ्नो कामले आफ्नो स्वाभिमानलाई थारु महिलाहरुले सदा उच्च राख्न सफल भएका छन् ।