१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पूर्वराजाको विज्ञप्तिप्रति बाबुरामको आपत्ति

नेपालब्रिटेन डट कम्
७ पुष २०७३, बिहीबार १०:२९

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीबीचको सामाजिक सद्भाव मेटाउँदै तराई, पहाड र हिमाल माझको एकता तोड्ने भगीरथ प्रयत्न भइरहेको भन्दै ‘चिन्ता’ व्यक्त गरेका छन् । पूर्वराजा शाहले हिजो बुधबार विज्ञप्ति जारी गर्दै नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाई रहेको र राष्ट्रलाई कमजोर पार्ने तथा राष्ट्रिय गौरव मेट्ने अशोभनीय र असैह्य काम भइरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । विज्ञप्तिमा– ‘सिंगो, संगठित, अविभाजित, सार्वभौम नेपाल दिएर जाने पुर्खाले सुम्पिएको राष्ट्रलाई जोगाउँदै समृद्ध, समुन्नत र सुदृढ बनाउनु मुल दायित्व र कर्तव्य भएपनि मूल्य–मान्यताहीन राजनीति, शक्ति पृथकीकरणको सिद्धान्तको ह्रास र आपराधिक कार्यले नेपाली समाज प्रताडित बनिरहेको’ दावी गरिएको छ । कुनै अवसर र सन्दर्भ विना पूर्वराजाले जारी गरेको विज्ञिप्तमा राजनीतिक नेतृत्व र पछिल्लो परिस्थितिप्रति तीब्र असन्तुष्टि व्यक्त गरिएको छ । राष्ट्र र राष्ट्रबासी नै स्थायी सत्ता भएपनि वाह्य शक्तिको अनुचित प्रभावमा अस्थाथी सत्ताहरु हावी गराइएको पूर्वराजाले उल्लेख गरेका छन् । विज्ञप्तिमा– ‘नेपाली मन मतिष्कमा देशभक्तिको भावना नढलेको भन्दै राष्ट्र बचाउन सबै नेपालीले फेरि एक पटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन्न मुखर र प्रखररुपले जाग्नै पर्ने बेला भएको’ भनिएको छ । पूर्वराजाले समय घड्किएपछि पश्चातापको कुनै अर्थ नहुने भन्दै राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउन आग्रह पनि गरेका छन् । हामी मरे पनि नेपाल बाँचिरहोस् भन्ने संकल्पबाट नै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा हुने पूर्वराजाको विज्ञप्तिमा उल्लेख छ ।

बाबुराम प्रतिक्रिया
नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्रका बक्तव्यको कडा शब्दमा आलोचना गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले ट्वीटर मार्फत शाहको बक्तब्यको आलोचना गरेका हुन् । विना कुनै सन्दर्भ बक्तब्यमार्फत मुलकको राजनीतिप्रति चासो र चिन्ता ब्यक्त गरेका शाहलाई भट्टराईले बाह्य शक्तिकेन्द्र धाउँदै हिँड्नेले राष्ट्रियताको दुहाई दिनु पाखण्डपूर्ण भएको बताएका छन् । दलहरुको आलोचना गरेका शाहको बक्तव्यको जवाफमा भट्टराईले शाहवंशले मात्र नेपाल आर्जेको, अरू गोरखाली सुतेको हो त ? भनेर प्रश्न समेत गरेका छन् । उनले पश्चगामी ध्येयका साथ पूर्वराजाले विज्ञप्ति जारी गरेको भन्दै गम्भीररुपमा अग्रगामी शक्तिहरूले प्रतिवाद गर्नैपर्नेमा जोड दिएका छन् । भट्टराईले ‘इतिहासमा क्रान्तिपछि राजालाई चैनसाथ बस्ने र हाकाहाकी प्रतिक्रान्तिको धम्की दिने छुट कतै दिएको नदेखिएको भन्दै ज्ञानेन्द्रलाई भने त्यो छुट कहिलेसम्म दिने भन्दै आक्रोस व्यक्त गरेका छन् ।