१६ चैत्र २०८०, शुक्रबार
Follow Us

इंग्ल्याण्ड नेसन्स लिगको छनौट खेलबाटै बाहिरियो

नेपालब्रिटेन संवाददाता
१ मंसिर २०७७, सोमबार ०४:०७

काठमाडौं । इंग्ल्याण्ड नेसन्स लिगको फाइनल चरणका लागि छनौट खेलबाटै बाहिरिएको छ । समूह ए टू अन्तर्गत गएराति भएको खेलमा बेल्जियमसँग २–० ले पराजित भएसँगै इंग्ल्याण्डको फाइनल चरण पुग्ने सम्भावना सकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा बेल्जियमका लागि १० औँ मिनेटमा रामेलु लुकाकुको सहयोगमा युरी टिएल्मन्सले गोल गरे । यस्तै २३ औँ मिनेटमा ड्राइज मर्टेन्सले गोल गरेर पहिलो हाफमा नै २–० को अग्रता दिलाए र सोही अग्रता नै जित बन्यो ।

विश्व बरियतामा शीर्ष स्थानको बेल्जियमको जितसँगै पाँच खेलबाट १२ अंक भएको छ र उ समूहको शीर्ष स्थानमा छ । सात अंकसहित इंग्ल्याण्ड तेस्रो स्थानमा छ ।

सोही समूह अन्तर्गतको अर्को खेलमा डेनमार्कले आइसल्याण्डलाई २–१ ले पराजित गरेको छ । डेनमार्कका लागि दुवै गोल क्रिष्टियन एरिक्सनले पेनाल्टी मार्फत गरेका छन् । जित निकालेको डेनमार्क १० अंकसहित दोस्रो स्थानमा छ । आइसल्याण्डले अहिलेसम्म एक खेल पनि जित्न वा बराबरी गर्न सकेको छैन ।