७ बैशाख २०८१, शुक्रबार
Follow Us

ओली-प्रचण्ड एक अर्कालाई पेलेर जाने रणनीतिमा

नेपालब्रिटेन डट कम्
२ मंसिर २०७७, मंगलवार १५:३५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीले रोकेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुष्ट भएका छन् । प्रचण्ड पक्षले कुनै हालतमा बैठक नरोक्ने अडान लिएकको छ ।

बैठक रोक्न ओलीको सन्देश लिएर महासचिव समेत रहेका अर्थमन्त्री विष्णु पौडेल खुमलटार पुगेका थिए । उनले प्रचण्डसँग बैठक रोकेर सहमतिको प्रयास गर्न आग्रह गरेपनि प्रचण्डले अस्वीकार गरेको बुझिएको छ ।

ओली पक्षले प्रचण्डले प्रस्तुत गरेको छुट्टै प्रतिवेदन फिर्ता नगरेसम्म बैठक नराख्ने अडान लिएपछि यसबारे टकराव बढ्दै आएको छ । प्रचण्ड पक्षधरले भने कुनै हालतमा बैठक राख्ने तयारी गरेको छ ।

विश्वस्त स्रोतका अनुसार प्रचण्डले धुम्बाराहीमा बैठक राख्ने तयारी गरेका छन् । उनले प्रचण्डलाई बैठकमा डाक्ने र नआएमा आफै अध्यक्षता गरेर अगाडि बढ्ने भएका छन् ।

प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले छलफल गरेर बैठक बसी स्थायी कमिटी डाक्ने तय गरेका छन् । १५ मंसिरमा केन्द्रीय कमिटी बैठक पनि बस्ने तय भएको छ । अब नेकपाभित्रको विवादको टुंगो पार्टी कमिटीबाट लगाउने गरी प्रचण्ड पक्षीय नेताहरु अगाडि बढेका छन् ।

सचिवालय बैठक रोक्ने ओलीको तयारीलगत्तै प्रचण्ड पक्षले बैठक गरेरै छाड्ने रणनीति लिएको छ । यसरी दुवै पक्ष एक अर्कालाई पेलेर जाने रणनीतिका साथ लागेका छन् । ओली र प्रचण्डको यो विवाद उत्कर्षमा पुग्दा नेकपा सचिवालय बैठक नबसेर फुटको खतरामा परेको छ ।