१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरी

नेपालब्रिटेन संवाददाता
३ मंसिर २०७७, बुधबार ०५:१७

ढाका । नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रिपुर्ण गोलरहित बराबरीमा सकिदा दुई खेलको सिरिज बङ्गलादेशले जितेको छ । आज बङगबन्धु स्टेडियममा भएको खेलमा नेपाललाई सिरिज जित्न जितमात्र होईन २–० भन्दा बढीको गोल अन्तरको जित जरूरी थियो । पहिलो खेलमा नेपाल दुई शुन्यले हारेको थियो ।

जित्नैपर्ने दबाबमा रहेको नेपालले आक्रमक रणनीति बनायो भने अघिल्लो खेलको प्लेइङ ईलेभेनमा ५ खेलाडी परिवर्तन गर्यो । कप्तानको जिम्मेवारी यो खेलमा भरत खवासलाई दिइयो । उनले नवयुग श्रेष्ठलाई रिप्लेस गर्दै कप्तान र स्ट्राइकरको जिम्मेवारी सम्हाले । कोरोना मुक्त भए लगत्तै रजिन धिमाल पनि मैदानमा उत्रिए । तर पनि नेपालले जित निकाल्न भने सकेन । पहिलो खेलको तुलनामा नेपालले सुधारिएको प्रदर्शन त गर्यो तर पनि पुरानै फर्ममा आउन निकै मिहिनेत गर्नुपर्ने देखिएको छ ।

पहिलो हाफमा नेपाल र बङ्गलादेश दुवैले पाएको केहि मौका गुमाए । १५ औ मिनेटमा नै नेपालले स्ट्राइकर भरतको स्थानमा नवयुगलाई मैदान छिरायो । पहिलो हाफमा नेपाल केहि हाबी देखिए पनि गोल गर्न भने सकेन । दोस्रो हाफमा तेज तामाङको स्थानमा मैदान प्रवेश गर्दै पुजन उपरकोटीले राष्ट्रिय टिमबाट डेब्यु गरे । ५६ औ मिनेटमा नवयुग श्रेष्ठ र सुजल श्रेष्ठले पाएको सुनौलो मौका गुमाए र निर्धारित नब्बे मिनेटको खेल गोलरहित बराबरीमा सकियो ।

इन्जुरी समयको पहिलो मिनेटमा नै रजिन धिमालको फ्रि किकलाई कप्तान जमालले क्लीयर गरिदिए भने लगत्तै रजिनकै क्रसमा नवयुगको पोष्टमा लागेर फर्कदा नेपालले सान्त्वना जित निकाल्ने मौका समेत चुकायो । खेल गोलरहित बराबरीमा सकिदा बङ्गलादेशले एक जित र एक बराबरीमा दुई खेलको सिरिज जितेको छ । नेपाली फुटबल कोरोनापछि मैदानमा फर्किए पनि लयमा फर्कन बाकी रहेको यो दुई मैत्रिपुर्ण खेलले स्पष्ट पारेको छ ।