November 24, 2020
1:32 AM | 7:17 AM

जीवा लामिछानेको ‘देश देशावर’ सार्वजनिक

  19/11/2020 मा प्रकाशित

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष एवम् उद्यमी जीवा लामिछानेको नियात्रासङ्ग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ । अक्षरका माध्यमबाट संसार घुमाउने पुस्तक हो- देश देशावर, जसले संसार घुमाउँदै इतिहास सम्झाउँछ र भूगोलको दृश्यचित्र कोरिदिन्छ । विश्वव्यापी रूपमा बढ्दो कोभिड-१९ को संक्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरी भिडियोमार्फत बिहीबार पुस्तक सार्वजनिक गरिएको हो ।

लामिछानेले नि:तान्त नौलो क्षेत्रमा गएर नौलो विषय टिपेर मिहिनेतसाथ यो कृति लेखेको लेखक खगेन्द्र संग्रौलाले बताए । ‘यो कति अति सजिलो ढंगले लेखिएको छ । सामान्य मान्छेले यसलाई सजिलोसँग बुझ्छ, यो कृति पढ्दा उसले नयाँ भूगोल पढ्छ,’ उनले भने, ‘नयाँ संस्कृति पढ्छ, नयाँ मान्छे भेट्छ, नयाँ रमाइलो भेट्छ ।’

संसारमा नेपालीहरू कहाँकहाँ पुगेका छन्, उनीहरू कुन अवस्थामा कसरी बसेका छन्, त्यो चिज थाहा पाउनमा लामिछानेको ठूलो चाख रहेको संग्रौलाले बताए । ‘‘कुनै देशको कुनाकानीमा नेपालीले सानो उद्यम गरेको छ भने त्यो देखेर उहाँ अत्यन्त प्रसन्न हुनुहुन्छ, हरेक नेपालीको प्रगतिलाई उहाँले आफ्नो र देशको प्रगति ठान्नुहुन्छ,’’ उनले भने, ‘‘समयसमयमा उहाँ कुनै नयाँ ठाउँमा जानुहुन्छ, त्यसबारेको जानकारी टपक्क टिपेर सजिलो किसिमले लेखिदिनुहुन्छ ।’’

शब्दले संसार घुमाउने किताब ‘देश देशावर’ रहेको लेखक अमर न्यौपानेले बताए । यसले विशेषगरी अफ्रिकी चार देशको युद्ध र शान्ति, विनाश र विकासको कथा पनि भन्ने उनको भनाइ छ ।

किताबले भ्रमणको हुटहुटी जगाउने र पाठकलाई घुम्न प्रेरित गर्ने फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले बताए । ‘‘विश्व धेरै रङ-रूपले भरिपूर्ण छ । बहुआयामिक पनि छ,’’ उनले भने, ‘‘विभिन्न देश अनि ठाउँमा पुगेर तिनै विशेषता बताउँदै, पाठकलाई जाऊँजाऊँ बनाउन यो कृति सक्षम छ ।’’ घुम्ने संस्कृति विकास हुँदै गरेको नेपालमा यो पुस्तकले त्यसका लागि सहयोगी भूमिका निर्वाह गर्न सक्ने उनले बताए ।

जसले एउटै पुस्तक पढेर संसारका धेरै ठाउँबारे जानकारी राख्न चाहन्छ, उसका लागि पु्स्तक उपयोगी हुन सक्ने लेखक लामिछानेले बताए । ‘‘यो पुस्तकमा तपाईंले ठूलो ‘लिटरेरी भ्यालु’ खोज्नुभयो भने त्यो पाउनुहुन्न,’’ लेखक स्विकार्छन्, ‘‘तर एउटै पुस्तकबाट संसारका विभिन्न देश एवं ठाउँबारे जान्न, त्यहाँको रहनसहन बुझ्न र भौगोलिक अवस्थाबारे जानकारी दिन भने पक्कै काम लाग्नेछ ।’’

प्रतिक्रिया