१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेलायत प्रहरीको सल्लाहकारमा नेपाल प्रहरीका पूर्वडीएसपी शिवजी श्रेष्ठ नियुक्त

नेपालब्रिटेन डट कम्
७ मंसिर २०७७, आईतवार ०८:०९

लण्डन । हाल बेलायतमा बस्दै आएका नेपाल प्रहरीका पूर्वडीएसपी शिवजी श्रेष्ठ बेलायती प्रहरीको क्षेत्रीय एड्भाइजरी बोर्डमा नियुक्त भएका छन् । बेलायती प्रहरीको ह्याम्पशायर कन्सट्याबुलरीको सल्लाहकार बोर्डमा आफूलाई नियुक्त गरिएको श्रेष्ठले जानकारी दिए ।

ह्याम्प्सायर कन्स्टल्बुरीका असिस्टेन्ट चिफ कन्स्टेबल म्याग्गी ब्लिथले श्रेष्ठलाई सल्लाहकार बोर्डमा नियुक्त गरिएको जानकारी गराएकी हुन् । ह्याम्पशायर कन्सट्याबुलरीको ‘फोर्स स्ट्याटेजिक इण्डिपेन्डेन्ट एड्भाइजरी ग्रुप’ मा नियुक्त ८ सदस्यमध्ये श्रेष्ठ एक हुन् ।

नेपाल प्रहरीका पूर्वडीएसपी श्रेष्ठको व्यवसायिक पृष्ठभूमि र यहाँको स्थानीय समुदायमा उनको सक्रियताका आधारमा प्रहरीको सल्लाहकारमा नियुक्त गरिएको हो ।

बोर्डमा श्रेष्ठको नाम प्रस्ताव भइसकेपछि विभिन्न चरणमा भएका बैठक र अन्तरवार्ताहरुपछि उनलाई नियुक्ति दिइएको हो । त्यसक्रममा ह्याम्पशायर कन्सट्याबुलरीका उच्च प्रहरी अधिकारीहरुसँगै बेलायत सरकारका पूर्व गृहमन्त्री समेतको सहभागितामा छलफलहरु भएको थियो ।

बोर्डमा सल्लाहकारका रुपमा नियुक्त श्रेष्ठको कार्यकाल आउँदो वर्षको सुरुदेखि २ वर्ष रहनेछ ।

बेलायतमा नेपालीहरुको उल्लेख्य बसोबास रहेका अल्डरसट, फार्नबरोदेखि हुक, बेजिंगस्टोक, विन्चेस्टर, अल्टन, साउथह्याम्पटन, पोर्टस्माउथ र आइल अफ ह्वाइटसम्मका क्षेत्र बेलायती प्रहरीको ह्याम्पशायर कन्सट्याबुलरीको कार्यक्षेत्रमा पर्छन् ।