४ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए ‘विशेष महाधिवेसन’ जनवरी अन्तिम सातामा हुने

नेपालब्रिटेन डट कम्
७ मंसिर २०७७, आईतवार १८:५३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) को बहुप्रतिक्षित ‘विशेष महाधिवेशन’ आगामी जनवरी अन्तिम सातामा हुने भएको छ ।
गैर आवासीय नेपाली संघको आइतवार बसेको ७५ औं बैठकले सो अधिवेशन जनवरीको २३ र २४ तारिखमा गर्ने निर्णय गरेको संघको उच्च स्रोतले नेपालब्रिटेन डट कमलाई जानकारी दिएको छ ।

बैठकले सो महाधिवेशनमा आर्थिक र विधान संशोधनको प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरेको संघले जनाएको छ ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा सम्पन्न सो बैठकले विशेष महाधिवेशनमा भाग लिने प्रतिनिधीहरुको चयनको लागि विधान व्याख्या समितिको सुझावका आधारमा महाधिवेशन प्रतिनिधी चयन गर्ने निर्णय भएको छ ।

बैठकमा बोल्ने बक्ताहरुले संघले अघि सारेका संस्थाको पुर्नरसंरचना सम्बन्धी प्रस्तावलाई अझ वैज्ञानिक र सर्वमान्य बनाएर लैजान सुझाव दिएका थिए ।

बैठकमा संघका विभागिय प्रमुख तथा उपाध्यक्षहरु डा. बद्री केसी, रविना थापा, सोनाम लामा, मन केसी, सचिवहरु गौरी जोशी, आरके शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, सहकोषाध्यक्ष लोक प्रसाद दाहाल, प्रवक्ता डिबी क्षेत्री लगायतले आआफ्नो विभागको प्रगति प्रतिवेदन पेश गरेको केन्द्रीय सदस्य रामशरण सिमखडाले जानकारी दिए ।

संस्थाका महासचिव डा. हेम राज शर्माले संचालन गरेको कार्यक्रममा १ सय भन्दा बढी केन्द्रीय सदस्यहरुले आआफ्नो भनाईहरु राखेका थिए ।