१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ओलीसँग देउवाको भेटलाई सत्ता साझेदारीसँग नजोड्न कांग्रेसको आग्रह

नेपालब्रिटेन संवाददाता
८ मंसिर २०७७, सोमबार १२:२१

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्ता साझेदारीसँग नजोड्न आग्रह गरेको छ । लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउन प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच भेटघाट र संवाद हुनु सकारात्मक भएकाले सत्ता साझेदारीसँग नजोड्न कांग्रेसले आग्रह गरेको हो ।

पार्टीभित्र द्वन्द चलिरहेका बेला प्रधानमन्त्रीले विपक्षी दलका नेतासँग भेट गरेको विषयमा भइरहेको टिप्पणीलाई लक्षित गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अहिले सरकारमा सहभागि हुने कुनै सम्भावना नरहेको बताएका हुन ।

प्रवक्ता शर्माले जनताले पाँच वर्ष प्रतिपक्षी भूमिकामा बस्न आदेश दिएकाले सत्ताका लागि आफुहरु लालयित नभएको बताए । नेकपाभित्रको द्वन्दमा आफ्नो पार्टी पुरै निरपेक्ष रहेको समेत कांग्रेसले जनाएको छ । भोलीका दिनमा नेकपा एउटै बाटोमा जान्छ भन्ने टुंगो नभएको भन्दै प्रवक्ता शर्माले सत्तारुढ दलमा द्वन्द हुँदा कांग्रेसले सत्ताका लागि खुट्टा उचालिहालेको रुपमा नर्हेन अनुरोध पनि गरेका छन । सत्तारुढ दलका विवाद चुलिएको बेला शनिबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएपछि त्यसले राजनीतिक रुपमा तरंग ल्याएको छ ।