१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कतारमा रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने बाटो खुला

नेपालब्रिटेन संवाददाता
८ मंसिर २०७७, सोमबार १२:२९

काठमाडौं । कोरोना महामारीको उच्च जोखिमलाई मध्येनजर गर्दै अन्य मूलुकबाट नयाँ श्रम स्वीकृति रोकेको कतारले नेपाली श्रमिकलाई कतारमा रोजगारी गर्न जाने बाटो खुलाएको छ ।

कतार सरकारले सूचना निकालेर नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक लिनका लागि श्रम अनुमोदन गर्नसक्ने बताएसँगै नेपाली श्रमिकको कतार जाने बाटो खुलेको हो । कतार सरकारको सूचना आएसँगै कतारस्थित नेपाली दूतावासले पनि आइतबारदेखि नयाँ मागपत्र प्रमाणीकरणको काम थाल्ने जनाएको छ ।

कतारले गरेको पछिल्लो घोषणाअनुसार अब वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले माग ल्याएमा दूतावासले प्रमाणीकरण गर्ने कतारका लागि नेपाली दूतावासले जानकारी दिएकोे छ । कतारस्थित नेपाली दूतावासले नयाँ श्रमिकको माग प्रमाणीकरण गर्न थालेसँगै कतारमा ठूलो सङ्ख्यामा नेपाली श्रमिकका लागि रोजगारी खुल्नसक्ने बताएको छ ।

कतिपय गन्तव्य मुलुकले श्रमिकको माग गरे पनि विदेशस्थित नेपाली दूतावासले नेपाली श्रमिकका लागि पेस भएका मागपत्र प्रमाणीकरणको काम नगरेको भन्दै म्यानपावर व्यवसायीले गुनासो गर्दै आएका थिए । यसअघि मागपत्र प्रमाणीकरणको कामलाई निरन्तरता दिन म्यानपावर व्यवसायीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा लिखित निवेदनसमेत पेस गरेका थिए ।