७ बैशाख २०८१, शुक्रबार
Follow Us

ह्याप्पी बर्थ डे टु कोलो

नेपालब्रिटेन डट कम्
८ पुष २०७३, शुक्रबार १०:४४

कोलम्बस । यिनी तीन सन्तानकी आमा, सोह«जनाकी हजुरआमा (बज्यै), बाह« जनाकी बूढी हजुरआमा (बुढी बज्यै) र तीनजनाकी बूढी हजुरआमाको पनि आमा (च्याप्जु बज्यै) भइसकिन् अर्थात् तिनले छोराछोरी, नातिनातिना, पनाति पनातिना, खनाति खनातिनासमेत गरी जम्मा ३४ जना सन्तानको मुखदेखि सकिन् ।

हालसालै मात्र यिनको शरिरमा रहेको एक अत्यन्त विषालु र घातक ट्युमर निकालियो । शल्यक्रियाको क्रममा यिनलाई खासै पीडा नभएको र हाल स्वास्थ्यलाभ गरिरहेकी भनी चिकित्सकहरु बताउँछन् ।

यिनी अरु कोही नभएर बिहीबार मात्र ५९ वर्ष उमेर पार गरी ६० औँ वर्ष टेकेकी, ओहायो राज्यको कोलम्बस चिडियाखाना निवासी, ‘कोलो’ नामकी, संयुक्त राज्य अमेरिकाभरिकी सबभन्दा बृद्धा, पोथी गोरिल्ला हुन् ।

बृद्धा कोलो, चिडियाखाना अर्थात् मानवीय नियन्त्रणमा जन्मेकी विश्वको प्रथम गोरिल्ला हुन् भन्ने विश्वास गरिएको छ । साधारणतया गोरिल्लाको औसत आयु ४० वर्षको हुन्छ तर, यिनले आफ्नो जातका प्राणीहरु बाँच्न सक्ने औसत आयुलाई दुई दशकले काटि सकिन् ।

उचित हेरचाह, पौष्टिक आहार, नियमित शारीरिक जाँच, औषधि उपचार र आधुनिक थेरापी तथा अन्य स्वास्थ प्रविधिका प्रयोगबाट जनावरहरुको आयु लम्ब्याउन सहयोग पुग्छ भन्ने यिनले उदाहरण नै प्रस्तुत गरेकी छन् ।

सिकागो राज्यको ब्रुकफिल्ड चिडियाखानाका उपाध्यक्ष तथा ‘गोरिल्ला प्रजाति संरक्षण तथा संबद्र्धन राष्ट्रिय योजना’का सल्लाहकार डा टम मीह्यानका अनुसार कोलम्बस चिडियाखानाले उपलब्ध गराएका आधुनिक सेवा सुबिधाहरु कोलोले जन्मेदेखि नै उपभोग गर्ने अवसर पाएकीले यिनी स्वास्थ र अति दीर्घजिवी हुनसकेकी हुन् ।

कोलोको ६०औँ जन्मोत्सवको अवसर मनाउन भेला भएका सयौँ आगन्तुक तथा चिडियाखानाका कर्मचारीहरुले ‘ह्याप्पी बर्थ डे टु कोलो’ भन्ने गीत गाएर शुभकामना ब्यक्त गर्दै उनलाई मनपर्ने स्क्वाय्स (बिशेष प्रकारको जूस), आलू, सखरखण्ड, चुकन्दर र मगमगाउँदो साग, सब्जीका बिभिन्न परिकारहरु खान दिएर बर्थडे केक काट्दै रमाइलो गरेका थिए ।

सो अवसरमा जन्मोत्सवकी प्रमुख नायिका कोलोलाई बिशेष प्रकारले सजाइएको, रङ्गी चङ्गी बुट्टेदार कागजका ध्वजा पताकाले बेरिएको मञ्चमा राखिएको थियो ।

संयुक्त राज्य अमेरिकाका अन्य राज्यमा अवस्थित बिभिन्न चिडियाखानामा सामान्य औसत आयु पार गरी पत्याइनसक्नु उमेरमा पनि मजाले बाँच्दै दैनिक गतिबिधिहरु सामान्य ढङ्गले बिताइ रहने थुप्रै दीर्घजिवी बृद्धबृद्धा जनावरहरु रहेका छन् ।

यीमध्ये १३ वर्षको खरायो, २७ वर्षको जिराफ, २६ वर्षको पाण्डा, ४५ वर्षको ओराङ्ग उटान, ३६ वर्षको हिउँभालू, ४६ वर्षको गैँडा, ५४ वर्षको हात्ती, ३३ वर्षको हिमाली बाँदर, ७० वर्षको चिम्पान्जी र १०० वर्षको कछुवा प्रमुख रहेका छन् ।