१५ चैत्र २०८०, बिहीबार
Follow Us

मुम्बईमा काम गर्दा गर्दै एक नेपाली गम्भीर दुर्घटनामा, दुवै खुट्टा भाँचियो

नेपालब्रिटेन डट कम्
९ मंसिर २०७७, मंगलवार ०९:२०

नयाँदिल्ली । नेपाल भारतको सम्बन्धलाई रोटी बेटीको सम्बन्ध पनि भनिन्छ । यतिमात्र नभई भारतमा रोजगारीको शिलसिलामा हजारौँ नेपालीहरु रहेका छन् । भारतमा नेपाली कामदारहरु धेरै समस्या रहेको छ । कहिले बेचिने, कहिले हेपिन, जस्ता घटनाहरु हामीले प्रत्येक दिन देख्न सक्छौँ। गरिबको हक हितलाइ प्रमुखता दिने मुम्बई जस्तो शहरमा नेपाली कामदारको यो अवस्था रहेको छ।

यस्तै दुखद् घटना अहिले भारतको मुम्बई शहरमा घटेको छ । कालिकोट जिल्ला, सान्नी त्रिवेणी गाउँपालिका, वडा नं १ निवासी मीन बहादुर शाही (मनोज) काम गर्दा गर्दै दुर्घटनामा परि अहिले जीवन भर शारिरिक असक्त हुने अवस्थामा पुगेका छन्।

शाहीको अवस्था गम्भीर भएपनि मालिकले कुनै चासो लिएन । उल्टै धम्कीका दिदै पिडित आफ्नो कम्पनिकै मालिकबाट हेपिएको गुनासो गरेका छन्। तीन महिना पहिला भारतको मुम्बई शहरमा लकडाउन खुलेको थियो । कोरोना महामारीको त्रास र लकडाउनको चपेटमा धेरै नेपालीहरुले आफ्नो रोजगारी गुमाएका छन्।

कोरोना महामारी सुरु हुनुभन्दा पहिले मिन बहादुर शाहीले मुम्बईकोे सडकमा ठेला पसल गर्दै आएका थिए। लामो समयसम्म लकडाउन भएपछि उनको ठेला पसल बन्द भयो।
मुम्बईमा हातमुख जोर्न समेत समस्या भएपछि मिन बहादुरले मुम्बईको कल्याण वेस्टमा म्युजिक प्राइम फिटनेस स्टेडियो (जीम)मा मासिक बाह्र हजार तलबमा सफाईको जागिर लागेका हुन्।

प्रत्येक दिन जस्तै मिन बहादुर शाही आफ्नो दैनिक कार्यमा व्यस्त थिए । जागिर लागेको ३ महिना नहुदै मिन बहादुरलाई झन ठुलो संकट आइपर्याे। गत अक्टोबर २ मा आफिसको पहिलो तल्लामा सरसफाई गर्ने क्रममा उनी चिप्लिएर पहिलो तल्ला बाट भुई तला खसे। उनका आफन्तका अनुसार दुर्घटनामा परेर मिन बहादुर बेहोस भएका थिए र उनको टाउकोमा चोट साथै दुवै खुट्टा भाँचियो।

मिन बहादुरलाई जिमका म्यानेजर सुभम नाम गरेका व्यक्तिले प्रहरिलाई खबर गरेर कल्याणमा रहेको रुकमणि अस्पतालमा पुर्याएका थिए। अस्पतालमा उपचार सम्भव नभएपछि कलवामा रहेको छत्रपति शिवाजि अस्पतालमा रेफर गरिएको थियो।

छत्रपती शिवाजि अस्पतालका डाक्टरका अनुसार दुवै खुट्टाको शल्यक्रिया गर्नु पर्ने नगरे जीवनभर अपांगता अवस्था हुने जानकारी दिए। पिडित मिन बहादुर शाहीका आफन्तले भन्छन, ‘हामीले जिमका मालिक सुरेश सँग औषधी उपचार गरिदिन आग्रह गर्दा मालिकले घाइतेको उपचार आफुले नगर्ने भन्दै उल्टै धम्कि दिने गरेका छन्।’

यस अवस्थामा उनका आफन्तले भारतको राजधानी दिल्ली स्थित नेपाली दूताबासलाइ यस घटनाको जानकारीका साथ् सहयोग गरिदिन आग्रह गरे पनि दूताबासले कुनै चासो नदिएको गुनासो गरे।

लकडाउनको चपेटमा परेका मीन बहादुर भारतमा बाच्नका लागि छट पटाई रहेका छन् । नेपालमा उनकी श्रीमती र २ छोरा उनकै भरमा रहेको छन् । मीन बहादुर आफै दुर्घटनामा परि यो अवस्था हुदा उनीहरुलाई समस्या परेको छ।

यो दुखद अवस्थामा उनलाई मुम्बईमा हेरचार गर्ने उनकी बहिनि मात्र छन्। उनकी बहिनी निरुता शाहीले नै ऋण धन गरि रात दिन उनकै हेरचार गरिरहेकी छन्।
‘भएको रकम पनि सकियो बिरामीको अवस्था जस्ताको तेस्तै छ ।’ उनले भनिन्।

भारत सरकारको कानुन अनुसार कार्यस्थलमा काम गर्दै गर्दा कुनै दुर्घटना भएको अवस्थामा कम्पनिले नै सम्पर्ण उपचारका साथै क्षति पूर्ति दिने नियम छ। तर मीन बहादुर शाहीलाई जिमका मालीकले कुनै वास्ता नगरेको उनको गुनासो छ।

– भरत पौडेल