१३ बैशाख २०८१, बिहीबार
Follow Us

दलहरु सहमति नजिक आइपुगेको छ : सभामुख

नेपालब्रिटेन डट कम्
८ पुष २०७३, शुक्रबार १०:४८

भक्तपुर । सभामुख ओनसरी घर्तीमगरले राजनीतिक दलहरु सहमति नजिक आएको बताउनुभएको छ । आज भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो – “विधमान समस्या निकासका लागि सहमतिको विकल्प नभएकाले दलहरु सहमति नजिक आइपुगेको छ ।”

सभामुख घर्तीमगरले अहिले संविधान कार्यान्वयनको सङ्क्रमणकालीन चरण भएकाले यसको कार्यान्वयनका लागि दलहरु एकजुट र एकमत भएर अगाडि बढ्न आफूले आग्रह गरेको बताउनुभयो ।

“आज पनि मैले प्रधानमन्त्रीलाई भेटेको थिएँ, उहाँले दलहरुबीच सहमति गराउने बचन दिनुभएको छ, उहाँले भन्नुभयो – आउँदो ११ गते सोमबार मैले फेरि दलहरुको संयुक्त बैठक आह्वान गरेको छु, त्यो बैठकले पक्कै पनि राष्ट्रलाई निकास दिन्छ ।”

सभामुख घर्तीमगरले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव कार्यसूचीमा आइसकेको बताउँदै दलहरुबीच सहमति भए त्यसलाई फिर्ता गर्न सकिने वा प्रक्रियामा जान सकिने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो “संसद्मा दर्ता प्रस्तावको विषयमा दलहरुले सहमति गर्न नसके पनि प्रक्रियामा जानका लागि भए पनि सहमति गर्नुस् भनेको छु, एउटै टेबुलमा दलहरु बसेपछि पक्कै निकास आउँछ भन्ने मलाई लागेको छ ।”

सभामुख घर्तीमगरले संविधान संशोधन नै गर्न हुन्नभन्ने पक्षमा कुनै पनि दल नरहेको आफूले पाएको बताउँदै संशोधन प्रस्तावभित्रको विषयमा मात्र असहमति भएकाले दलहरुबीच सहमति गरेर सो विधेयकलाई सरकारले फिर्ता लिने वा परिमार्जन गर्नसक्ने बताउनुभयो ।

२०७४ साल माघ ७ गतेभित्र तीन वटै तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्छ भन्नेमा सबै दल एकमत रहेकाले यसलाई मध्यनजर गरेर पनि दलबीहरूचको सहमतिबाटै समस्याको निकास निस्कने उहाँले भन्नुभयो ।

सो अबसरमा सभामुख घर्तीमगरले केन्द्रले गत मङ्सिर २२ गते बुधबार सफलतापूर्वक नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गरेका भक्तपुरका ३६ वर्षीय बलराम नागालाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो ।

केन्द्रको शल्यक्रिया, आइसियु, सिसियु, डायलोसिसलगायतका युनिटको अवलोकन गर्दै उहाँले यहाँका अत्याधुनिक प्रविधिकोबारेमा पनि जानकारी लिनुभयो ।

केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले केन्द्रले दिँदै आएको सेवा, सुविधा, यहाँका अत्याधुनिक प्रविधि र अहिलेसम्म पु-याएको सेवाको बारेमा सभामुख घर्तीमगरलाई जानकारी गराउनुभयो ।

केन्द्रमा आउने बिरामीको चाँप अत्याधिक भएको, तर ठाउँको अभाव भएकाले केन्द्रको विस्तारका लागि जग्गा उपलब्ध गराउन र केन्द्रलाई आवश्यक दक्ष चिकित्सकीय जनशक्ति उत्पादन गर्ने गरी प्रतिष्ठान बनाउनका लागि पहल गरिदिन उहाँले सभामुखसँग आग्रह गर्नुभयो ।

सभामुख घर्तीमगरले आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै रोगबारे थाहै नपाई ज्यान जाने अवस्थालाई केन्द्रको सेवाले मुक्त गरिदिएको प्रतिक्रिया दिनुभयो । उहाँले गाउँ-गाउँमा गएर मिर्गौला रोगकाबारेमा जनचेतना फैलाउन र स्वास्थ्य शिविर सञ्चालन गर्र्नुपर्ने आवश्यकता औल्याउनभयो ।

सभाुमखसँगै आउनुभएका संसद् सचिवालयका सचिव सोमबहादुर थापाले केन्द्र धेरै साँघुरो भएकाले सल्लाघारीमा रहेको ९९ रोपनी जग्गामा केन्द्रलाई विस्तार गर्न सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।