६ बैशाख २०८१, बिहीबार
Follow Us

च्याम्पियन्स लिग : बार्सिलोना, चेल्सी र युभेन्टस नकआउट चरणमा

नेपालब्रिटेन संवाददाता
१० मंसिर २०७७, बुधबार ०६:०५

लन्डन । स्पेनिस क्लब बार्सिलोना, इग्लिस क्लब चेल्सी र इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । मंगलबार राति भएको खेलमा युक्रेनी क्लब डाइनामो किभलाई ४० शुन्य गोल अन्तरले पराजित गर्दै बार्सिलोना नकआउट चरणमा पुगेको हो ।

किभको मैदानमा बार्सिलोनालाई जित दिलाउन मार्टिन ब्रेथवेटले दुई गोल गरे । सर्जिनो डेस्ट र एन्टोनियो ग्रिजम्यानले एक एक गोल गरे । इटालियन क्लब युभेन्ट्स पनि नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा हंगेरीको एफटिसीलाई दुई एक गोल अन्तरले पराजित गर्दै युभेन्ट्स अन्तिम १६ मा पुगेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे । एफटिसीका म्यर्टो युज्नीले एक गोल फर्काए । जितसँगै युभेन्ट्सले समूह ’जी’ मा ४ खेलमा ९ अंक जोड्यो ।

इग्लिस क्लब म्यानचेस्टर युनाइटेडले टर्कीको इस्तानबुल बासाखेरविरुद्ध प्रभावशाली जीत निकालेको छ । ओल्ड ट्याफोडमा भएको खेलमा स्तानबुललाई ४–१ पराजित गर्यो । समूह ए मा म्यानचेस्टर युनाइटेडले ९ अंक जोडेको छ । फ्रान्स क्लब पिएसजी र आरबी लिपिङको ६–६ अंक छ ।

युएफा च्याम्पियन्स लिगको समुह ‘ई’ बाट चेल्सी र सेभिया नकआउट चरणमा पुगेका छन् । गएरातिको खेलमा फ्रान्सको रेनेजलाई २–१ ले हराउँदै चेल्सी तथा रुसको एफसी क्रस्नोडारलाई २–१ ले हराउँदै सेभिया राउण्ड अफ सिक्सटिनमा पुगेका हुन् ।

च्याम्पियन्स लिगकै अन्य खेलहरुमा जर्मनीको बोरुसिया डर्टमण्डले बेल्जियमको क्लब ब्रुजलाई ३–० ले हराउँदा इटालीको लाजियोले रुसको जेनिथलाई ३–१ ले पाखा लगायो ।

नेइमारको गोलको सहयोगमा पिएसजीले जित निकालेर च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ । समूह एच अन्तर्गत मंगलबार राति भएको खेलमा घरेलु टोली पिएसजीले आरबी लेइप्जिगलाई १–० ले पराजित गरेको हो । दुई खेल बाँकी हुँदा आरबी ६ अंकसहित तेस्रो स्थानमा झरेको छ र समान ६ अंक नै भएको पिएजसी दोस्रो स्थानमा पुगेको छ।