१३ बैशाख २०८१, बिहीबार
Follow Us

सरसरर्ती ‘देश देशावर’

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७७, शनिबार १५:२४

चिरन शर्मा । लण्डन । सानोमा त सपनाको भेउ पाउँदैनथे म, तर किशोर भइसक्दा संसार सारा आफ्नै आँखाले नियाल्ने सपना बुन्थे । परिस्थितीले विदेश ल्यायो, संयोगले दर्जन बढी देश घुम्ने मौका पनि जुर्यो । तर संसार घुम्न पाए हुन्थ्यो भन्ने चाहा कम भने भएको छैन । त्यही संसार घुम्ने चाहाना पूरा गर्ने शाब्दिक माध्यम हामीसम्म ल्याइदिनुभएकोमा जीवा दाइ, तपाईप्रति आभारी छु ।

दाइको किताब आउँदै छ, भन्ने जानकारी भएरै दुई साताअघि नेपाल पुगेको बेला भोटाहिटी, बागबजारसम्म चहारेको थिएँ तर किताब बजारमा आइसकेको थिएन । मंगलबार साँझ किताब पाएँ मन गदगद भो ।

हुन त उहाँसँगको प्रत्यक्ष भेटमा पनि कयौं किस्सा सुनिएकै हो, यसअघिको सरसर्ती संसार पनि पढिएकै हो, तर पनि नयाँ किताब हात पर्नासाथ मैले पुस्तक पढ्न भ्याइहाले ।
भनिन्छ, नि शब्दले कल्पनाको त्यो विन्दुसम्म पु-याउँछ जहाँ व्यक्तिले कहिले नपुगेका स्थानमा आफू भएको अनूभूति संगाल्न सक्छ । २ सय पेजको पुस्तकले पनि कल्पनाको त्यही विन्दुमा पु-याउँछ जहाँ हर कोहीले आफूलाई पनि त्यही स्थानको एक पात्रको रुपमा अनूभूत गर्न पाउँछ र मानसपटलमा सुन्दर चित्र कोर्न सक्छ ।

हुन त, सरसरर्ती संसार पढेका पाठकलाई यो पुस्तक सोही पुस्तकको अर्को सिरिज लाग्न सक्ला । खासमा म आफैं धेरै पुस्तक पढ्ने र तिनको समिक्षा गर्ने पात्रमा आफूलाई समेट्दिन तर जीवा दाइको पुस्तक पढीरहँदा आफ्ना अव्यक्त भाव व्यक्त गर्ने चाहाना कसको पो नहोला र ?

मैले यहाँ पुस्तकको समिक्षा गर्ने चेष्टा भने पटक्कै गरेको होइन है । तर सामान्य पाठकको हैसियतमा मनमा लागेका कुरा भने लेख्ने जमर्को पक्कै गरेको छु ।
एउटा पाठकलाई एउटा सिंगै पुस्तक पढुँञ्जेल टिकाइराख्ने एक मात्र अस्त्र भाषा हो । कठिन र भारी शब्दको बोझ हरकोही पाठकले थाम्न सक्दैन तर यो पुस्तकमा प्रयोग गरिएका सरल र सहज शब्दले पाठकलाई बगाइरहन्छ निरन्तर । अझ पुस्तकभित्रको छुट्टै भूगोल, फरक मान्छे, उनीहहरुको रहनसहन अनि संस्कृतिलाई पनि सबैले बुझने भाषामा व्यक्त गर्न सक्नु लेखकको ठूलो सफलता ठानेँ मैले ।

फेरि, १ सय ३० भन्दा बढी देश घुमिसकेको लेखकलाई आफ्नो नियात्रामा विषय छान्न कति कठिन हुँदो हो । तर लेखकको कुशलता भन्नुपर्छ हरेक पाठकको मन बुझे झैं, पुस्तकका विषय छनोट गरिएका छन् । पुस्तकमा राजनीति छ, संस्कृति छ, भौगेलिकता अनि अर्थ क्षेत्रको बेजोड प्रस्तुति पनि । युद्धदेखि शान्ति अनि विनासदेखि विकास पनि ।
हामीलाई लाग्दो हो संसारका सबै कुरा गूगलमा पाइन्छन्, तर मैले यस पुस्तकमा गूगलमा नपाइने धेरै सन्दर्भ भेटेँ ।

तीनखुट्टे हात्तीको सन्दर्भमा राम र रामायणको प्रसँग रोचक लाग्यो । रामायण पाठ गर्दा ,समुन्द्र पार गरेर टापूको देशमा कसरी पुग्न सकिँएला भनेर कल्पने उही बाल पात्रले उमेर र अनुभवको सिँढी छिचोल्दै गर्दा सगाँलेका अमूल्य भोगाई आफूले पढीरहेको छु भन्ने भावले हर कोही पाठक हर्षित हुन्छ । लेखकको सफलताको सुन्दर उदाहरण यो भन्दा अर्को के पो होला ?

ताञ्जानिया, मोजाम्बिक, रुवान्डा, युगान्डा, चीन, हङ्गकङ्गलगायतका देशको आर्थिक विकासको प्रसंगलाई निकै रोचक तरिकाले प्रस्तुत गरिएको छ पुस्तकमा । नेपालमा पनि विकास भएको हेर्न चाहने पाठकका लागि उनीहरुको विकास क्रमले लोभ्याउँछ घरीघरी ।

युगान्डाका तत्कालिन शासकको प्रसंग रोचक छ । आधा दर्जन युवतीसँग विवाह गरेका इदी अमिनले परपुरुषसँगको सम्बन्धकै कारण आफ्नी पत्नीमध्येकी एउटीलाई त्याग गरेको प्रसंगले पुरुष पात्रको चरित्र गजबले चित्रण गरेको छ ।

वीरेन्द्र वियरसँगको संवाद यसअघि नै कान्तिपुरको कोसेलीमा प्रकाशन हुँदा मैले पढ्न भ्याइसकेको थिएँ, देश देशावरमा पुन सोही प्रसंगसँग साक्षात्कार हुँदा उतिखेर पढेका शब्द शब्दसँग परिचित भएजस्तै भान भयो । गोथे होटलमा कहिलै नसकिने वीरेन्द्र वियर, म्युनिखमा बियरको खोलो र वीरेन्द्र वियरसँग संवाद । यी दुई सन्दर्भले पेयप्रतिको पिरती तरङ्गित हुन्छ ।

कहिलै नसकिने वीरेन्द्र वियर
हुन त होटेल गोथे, वीरेन्द्र वियर,जीवा दाई अनि मेरो गजवको मिठो सम्झना छ । त्यो ताका फ्याङफर्डमा गैरआवासीय नेपाली संघको युरोप क्षेत्रीय बैठक चल्दै थियो ।
वीरेन्द्र वियरको पनि ठूलै चर्चा थियो उहीबेला । जीवा दाइले मौकामा वीरेन्द्र वियरको स्वाद सबैलाई चखाउँदै हुनुहुन्थ्यो । सुरुमै पुग्नेले त वीरेन्द्र वियरकै स्वाद लिए । तर पछि अनि अझ पछि पुग्नेले चै वीरेन्द्र वियरको नाममा यूरोपकै वियरको चुस्की लिएको रहस्य मैले आजै खोलेँ । सबैले वियरको चुस्की लिँदै वीरेन्द्र वियरको चर्चा गर्दा हामी पनि हौँसिएर वा भनौँ अझ अरुलाई हौँस्याउन वीरेन्द्र वियर भन्दै अडर गथ्यौैँ । रमाइलो कुरा त के भने क्षेत्रीय बैठक नसकिने बेलासम्म त्यो वियर कहिलै सकिएन होटेल गोथेमा ।

साँच्चै जीवा दाइ,आजकाल चै गोथे होटलको वीरेन्द्र वियर सकियो कि बाँकी छ ? कि उत्पादन हुँदैछ बेला मौकामा?

Twitter: @chiranuk