१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दलीय उम्मेदवारको दरखास्त खारेज गर्न एनआरएनए विधान समितिलाई सुझाव

नेपालब्रिटेन डट कम्
१४ मंसिर २०७७, आईतवार ०८:५४

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा दलगत उम्मेदवार बन्ने पदाधिकारीको उम्मेदवारी खारेज हुने विधानमा व्यवस्था गर्न मानार्थ परिषद्का सदस्यहरुले सुझाव दिएका छन् ।
सल्लाहकार कुल आचार्यले संघको विशेष महाधिवेशनमा सबै प्रतिनिधिहरुले धारणा राख्न पाउनुपर्नेमा जोड दिए । उनले राष्ट्रिय समितिले तिर्दै आएको सदस्यता शुल्क नतिर्न सक्ने नबाएर जान सकिने बताए । उनले संघको निर्वाचनमा लाग्ने उम्मेदवारी शुल्क कम गर्नसमेत सुझाव दिए ।

अर्का सल्लाहकार टीबी कार्कीले संघले अघि सारेको पुनर्संरचनासम्वन्धी प्रस्ताव अग्रगामी भएको बताउँदै विशेष महाधिवेशनबाट यो प्रस्ताव पास गर्न सबै पक्षलाई आग्रह गरे । उनले समयअनुसार संस्थागत पुनर्संरचना आवश्यक रहेको बताए । उनले संघका पूर्वअध्यक्षहरुको सम्मानका लागि अध्यक्ष परिषद्को व्यवस्था गर्न सुझाव दिए ।

गैरआवासीय नेपाली संघको विधान संशोधन समितिले शनिवार आयोजना गरेको भर्जुअल सुझाव संकलन कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले एनआरएनएको निर्वाचनमा दलिय हस्तक्षेप भएको भन्दै निन्दा गरे । सुझाव पेश गर्दै बेलायतबाट प्रतिनिधित्व गर्ने रण केसीले राजनीतिक दलको पगरी भिरेर उम्मेदवार बन्नेहरुको मनोनय खारेज हुने व्यवस्था गर्न विधान समितिलाई सुझाव दिए ।

रामेश्वर गौतमले एनआरएनएभित्र निःशुल्क सदस्यताको विषय सबैको चाहना भएको बताए । उनले अनलाइन भोटिङ र प्रतिनिधिचयनको पक्षका आफ्ना भनाइहरु राखे । उनले राजनीतिक दलहरुलाई संस्थाभित्र हावी हुन नहुने तर्क गरे । संघका पूर्वयुरोप संयोजक शिवकुमार वरुवालले निःशुल्क सदस्यताको बारेमा औचित्य प्रस्ट हुनुपर्नेमा जोड दिए । प्रविधिलाई विश्वसनीय बनाएर अनलाइन भोटिङमा जान उचित हुने उनको सुझाव थियो ।

समितिका संयोजक भूषण घिमिरेको अध्यक्षमा भएको कार्यक्रममा युरोप, मध्यपूर्व, एशिया क्षेत्रमा रहेका मानार्थ परिषदका सदस्यहरुले संगठनको पूनर्संरचनालगायतका विषयमा आआफ्ना भनाइहरु राखेका थिए ।

बैठकमा एनआरएनए सल्लाहकारहरु विश्वआर्दश पण्डित, कुल आचार्य, टिबी कार्की, पुष्प तिमल्सिना, रामेश्वर गौतम, हरिहर अर्याल, पारमणी गौतम, बिमल सुवेदी, बिनोद भट्टराई, गोविन्द गौतम, कमल गुरागाई, जुनु गुरुङ, रण केसी, गंगाधार गौतम, ओम गुरुङ, शिव बरुवाल, यास्मिन वेगम, प्रमोद सिटौला लगायतको उपस्थिति थियो ।
कार्यक्रममा बिधान समितिका सहसंयोजक रामशरण सिमखडाले गरेका थिए ।