१६ चैत्र २०८०, शुक्रबार
Follow Us

स्थानीय तहसहित देशभर ४०३ अस्पतालको शिलान्यास गरिँदै

नेपालब्रिटेन संवाददाता
१५ मंसिर २०७७, सोमबार ०५:२५

काठमाडौं । आज देशभर एकसाथ ४०३ वटा अस्पतालको शिलान्यास हुँदैछ । ३९६ पालिकामा आधारभूत अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल गरी ४०३ अस्पताल भवनको शिलान्यास हुँन लागेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार दिउँसो चितवनको भरतपुरमा प्रादेशिक सरूवा रोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ बन्ने भवनको शिलान्यास गर्दैछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै अस्पतालहरु एउटै डिजाइनका हुनेछन् । अस्पतालहरु दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ । अस्पताल निर्माणका लागि यो वर्ष ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ बजेट निकासा गरिसकिएको छ ।

पाँच शय्याको अस्पतालमा एक मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शय्याको अस्पतालमा दुई मेडिकल अफिसरसहित १७ स्वास्थ्यकर्मी र १५ शय्याको अस्पतालमा तीन मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ ।

सरकारको नीति तथा कार्यक्रममा सबै स्थानीय तहहरुमा ५ देखि १५ शय्याका अस्पताल बनाउने उल्लेख छ । तर सबै स्थानीय तहहरुमा १५ शय्याका अस्पताल बनाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।

हाल कूल ७५३ स्थानीय तहहरुमध्ये १ सय ४ वटामात्र मात्रै बिभिन्न तहका अस्पताल छन् ।